काठमाडौं- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता आइतबार सांसदबाट पारित गरिएको विरोधमा सोमबार घोषणा गरिएको नेपाल बन्द प्रभावहीन देखिएको छ। काठमाडौंका मुख्य राजमार्ग तथा सडकहरूमा बिहानैदेखि सवारीसाधनको चहलपहल बाक्लो देखिएको हो।
बजार तथा पसल खुलेका छन्। मुख्य सडक तथा चोकहरूमा सुरक्षाकर्मीहरूको उपस्थिति छ। प्रहरीका अनुसार सडकमा गुड्ने सवारीसाधनको चाप क्रमशः बढिरहेको छ। यसैबीच बन्द गराउन हिँडेका आधा दर्जन व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौंका विभिन्न विभिन्न ठाउँबाट ती बन्दकर्ताहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। परिसरका अनुसार बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन्। त्यस्तै चाबहिल र कलंकीमा ३ वटा बसमा तोडफोड गरिएको प्रहरीले जनाएको छ।
एमसीसी सांसदबाट पास गरिएको विरोधमा ६ वटा साना कम्युनिस्ट सङ्गठन र दुई वटा मोर्चाले सोमबार नेपाल बन्दको आह्वान गरेका हुन्। मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको अर्को नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादीलगायतका साना कम्युनिस्ट घटकले सोमबार बन्दको आह्वान गरेका छन्।


