महोत्तरी। महोत्तरी काँग्रेसको जिल्ला कार्यसमितिको लागि भएको मतदान शुक्रवार राती ८ बजे सकिएको छ । बिहान ११ बजे देखि सुरु भएको मतदान सम्पन्न हुदा ९४ प्रतिशत मतदाताले मत खसालेको नेपाली काँग्रेसको जिल्ला निर्वाचन अधिकृत ईन्द्र अधिकारीले वताए । उनले कुल २२७६ मतदाता रहेकोमा २१३९ ले मतदान गरेको बताए ।
रामानन्दन बिश्वेश्वर महेन्द्र क्याम्पसमा भएको उक्त मतदानको गणना भने राती ११ बजेबाट सुरु गर्ने अधिकृत अधिकारीले वताए । उनले उम्मेदवारहरुसंग राती नै गणना गर्ने सहमति भैसकेको थपे । महोत्तरी जिल्ला कार्यसमितिकोलागि तिन प्यानलमा भिडन्त भएको छ ।
जसमा शेर बहादुर देउवा गुटबाट नागेश्वर यादव र शुशील यादवले सभापतिको लागि उम्मेदवारी दिएका छन भने शशांक कोईराला,बिमलेन्द्र निधी र प्रकाशमान सिंहको तर्फबाट बजरंग नेपालीले साझा उम्मेदवारी दिएका हुन ।
शुक्रवार भएको मतदानमा तिनै पक्षले आफ्नो प्रवल दावेदारी प्रस्तुत गरेकोमा मतपेटीका खुलेपछिमात्र कसले सभापति हात पार्ने थाहा हुने भएपनि तिनैपक्षका नेता तथा कार्यकर्ताहरुले सन्तोष जनक मतदान भएको र नतिजा समेत सकारात्मक आउने प्रतिकृया दिएका छन ।