
सर्लाही- सर्लाही क्षेत्र नं. ४ मा पनि सत्ता गठबन्धनका उम्मेद्वारहरु विरुद्ध नेपाली कांग्रेसका चर्चित नेता डा. अमरेशकुमार सिंहको नेतृत्वमा प्यानल नै बनाएर बागी उम्मेद्वारी परेको छ । २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित डा. सिंहले यो पटक अन्तिम समयमा आएर टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।

सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा अन्तिम समयमा कांग्रेसका पूर्व जिल्ला सभापति एवं निवर्तमान संघीय सांसद् नागेन्द्र कुमार रायलाई पार्टीले टिकट दिएपछि डा. सिंहले स्वतन्त्र रुपमा बागी उम्मेद्वारी दिएका हुन् । डा. सिंहसँगै प्यानल बनाएर निर्वाचनमा प्रचार प्रसार गर्ने उद्धेश्य सहित नेकपा माओवादी केन्द्रका नेता शिवपुजन रायका भतिजा प्रितम कुमार यादवले प्रदेश सभा क बाट र यसअघि दुई पटक गोडैता नगरपालिकाको मेयरमा माओवादीबाट उम्मेद्वारी दिएकी अनिता देवी यादवले प्रदेश सभा ख बाट स्वतन्त्र उम्मेद्वारी दिएको डा. सिंह निकट एक कार्यकर्ताले दाबी गरे । सिंह निकट नेता कार्यकर्ताहरुले डा. सिंह, अनिता देवी र प्रितमको फोटो राखेर पोष्टर पम्प्लेट सहित प्रचार प्रसार सूरु गरिसकेका छन् ।

यस विषयमा बुझ्न फोन गर्दा डा. सिंहको मोबाईल उठेन भने अनिता देवी र शिव पुजन रायको मोबाईलमा पटक–पटक सम्पर्क हुन सकेन । कांग्रेसमा संस्थापन ईतर शेखर कोइराला गुटमा रहेका डा. सिंहले स्वतन्त्र उम्मेद्वारी दिएपछि अब कुनै पार्टीको नेता वा कार्यकर्ता नरहेको प्रतिकृया दिने गरेका छन् । नेपाली कांग्रेस सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंह तथा उनका भाई मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंहले डा. सिंहलाई कुनैपनि हालतमा टिकट नदिने बरु चर्चित नेता गगन थापालाई नभए क्षेत्र नम्बर २ को कौडेना घर भएका निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार रायलाई संघीय सांसद्को टिकट दिनुपर्ने अडान लिएपछि कांग्रेस केन्द्रीय कार्यालयले आईतबार मध्यान्ह नागेन्द्र कुमारलाई प्रतिनिधि सभा सदस्यको उम्मेद्वारको टिकट दिएको थियो । राय ०७४ मा समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेका थिए ।
४ नम्बर क्षेत्रीय समितिले उम्मेद्वार सिफारिसमै डा. सिंहको नाम नराखी प्रतिनिधि सभा सदस्यका लागि गगन थापाको मात्र नाम राखेको थियो । सोही सिफारिसलाई जिल्ला कार्य समितिले मधेश प्रदेश समिति र मधेश प्रदेश समितिले केन्द्रीय समितिमा पठाएको थियो । अन्तिम समयमा गगनले काठमाडौं ४ नछोड्ने र सर्लाही नजाने अडान लिएपछि जिल्ला सभापति सुरेन्द्र र मधेश प्रदेश उपसभापति वीरेन्द्रले केन्द्रीय सभापति शेर बहादुर देउवा लगायत केन्द्रीय नेतृत्वसँग नागेन्द्र कुमार रायका लागि टिकट लिएरै छाडेको एक नेताले जानकारी दिए । उनीहरुले कुनैपनि हालतमा डा. सिंहलाई उम्मेद्वार नमान्ने पहिला देखि नै बताउँदै आएका थिए ।
सत्ता गठबन्धनबाट ४ क मा कांग्रेसका मधेश प्रदेश उपसभापति एवं मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह तथा ख मा माओवादी केन्द्रका फकिरा महतोले उम्मेद्वारी दिएका छन् । त्यस्तै विपक्षी गठबन्धनबाट भने जसपाका राकेश कुमार मिश्रले प्रतिनिधि सभा सदस्यमा तथा प्रदेश क मा नेकपा एमालेका रामबाबु राय (बम्बैया) र ख मा जसपाका उदय कान्त मिश्रको उम्मेद्वारी परेको छ ।