धनुषा - जनकपुरकमा साथीलाई गोली प्रहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति कमला नगरपालिका –८ का मुकेश मुखियालाई मामाको घरमा आएको बेला गोली प्रहर गरेको आरोपमा धनौजीबाट प्रहरीले रुपेश यादवलाई पक्राउ गरेको हो ।
यादवलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना मुद्दा शिर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गोली लागि गम्भीर घाइते भएका मुकेश मुखियाको हाल काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । मुखियाको घाँटीको भागमा गोली लागेको छ ।
मुकेश मुखिया र रुपेश यादव साथी रहेको र मुकेश मुखिया आफ्नो मामाको किराना पसलमा बसिरहेको अवस्थामा रुपेश यादवले मुकेशलाई पेस्तोल ताकी गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्नुको कारण भने प्रहरीले खुलाएको छैन । गोली प्रहार भएको केही समयमा घटनास्थलमा पुगेको प्रहरीले जगदीश साहको खाली खेतबाट प्रयोग भएको म्याग्जिन, अटोमेटिक पेस्तोल बरामद गरेको थियो ।