
जनकपुरधाम- नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि आज हुने भनिएको दोस्रो चरणको मतदान भोली शुक्रवार हुने भएको छ । संस्थापन पक्ष र संस्थापन इतर समूह बीचको विवादको कारण बिहिवार हुने भनिएको मतदान शुक्रवारका लागि सारिएको हो ।
जिल्ला निर्वाचन अधिकृत अरुण ज्ञवालीले कांग्रेस धनुषाको अधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन (मतदान प्रक्रिया) को बिहीबार बिहान ८ बजेदेखि गर्ने सूचना प्रकाशन गरिएकोमा उम्मेदवारहरुको सहमति र सहकार्यको निर्णय अनुसार सभापति पदको दोस्रो चरणको मतदान शुक्रबार बिहान ८ बजेदेखि हुने जानकारी दिए ।
यता बिहीबार तोकिएको मतदान नहुँदा गाउँ गाउँबाट आएका मतदाताहरुले नाराबाजी गरेर विरोध जनाएका छन् ।
कांग्रेसका नेता कार्यक्रताहरुले पार्टी कार्यालय घेराउ गर्दै अनाहकमा निर्वाचन सारेर आफनै नेता कार्यक्रतालाई दुःख दिने काम नगर्न नारावाजी गरेका थिए ।
पहिलो चरणको निर्वाचनमा संस्थापन इतर बिमलेन्द्र निधि समूहका सभापतिका उम्मेदवार योगेन्द्र पंजियारले १२४८ संस्थापन पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार सन्तोष यादवले ८८२ र संस्थापन इतर कै शेखर कोइराला समूहका दिनेश प्रसैलाले ६३० मत ल्याएका थिए ।
यसरी कुनै पनि उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि पहिलाे र दाेश्रो स्थानमा आएका उम्मेदवार द्वय क्रमश योगेन्द्र पजियार र सन्तोष यादव बीच दोश्रो चरणको निर्वाचन हुने भएको हो ।प्रतिस्पर्धाबाट बाहिरिएका प्रसैलाले पजियारलाई समर्थन जनाइसकेका छन् ।
धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर्धामा छन्।
