ढल्केवर (धनुषा)- सहिद पत्रकार उमा सिंहको १३ औँ स्मृति दिवस मनाइएको छ । पत्रकार र पत्रकारिता क्षेत्रमा क्रियाशिल विभिन्न संचार माध्यम र संघसंस्थाले सहिद पत्रकार सिंहको १३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि पौष २७ गते मंगलबार मनाएको छ ।
मिथिला नगर पत्रकार सञ्जाल ढल्केवरले मंगलबार साँझ ढल्केवर स्थित पार्कमा स्व. सिंहको तस्बिर अगाडि दीप प्रज्वलन गरी स्मृति दिवस मनाएका हुन् ।
दीप प्रज्वलन कार्यक्रममा मिथिला नगर पत्रकार सञ्जालका पदाधिकारी, मगही भाषाका अभियानी फुलगेन महतो मगही, मिथिला उधोग बाणिज्य संघका उपाध्यक्ष सन्तोष महतो, दारी ग्याङ्ग प्रदेश २ का संयोजक देवराज घिमिरे, लाङ्घाली युवा क्लबका पदाधिकारी तेज थापा ओमप्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानका सदस्यलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।
पत्रकार महासंघ धनुषा शाखा द्वारा महिला पत्रकारहरूको सुरक्षा विषयमा अन्तरक्रिया कार्यक्रम
त्यसैगरी स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले जनकपुरमा महिला पत्रकारहरूको सुरक्षा विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा सहभागी महिला पत्रकारहरूले आफूहरूको पेसागत तथा भौतिक सुरक्षा निक्कै चुनौतीपूर्ण भएको बताएकी छिन् । सो कार्यक्रममा महिला पत्रकारहरु नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रिंकु मिश्र (गायत्री), प्रदेश उपाध्यक्ष ज्याति झा, चाँदनी झा, स्मृति मिश्र, वन्दना कर्ण सहितका महिला पत्रकारहरूले पेसागत सुरक्षा तथा उचित प्रशिक्षण भएको खण्डमा आफुहरुले खुलेर पत्रकारिता गर्नका लागि तयार भएको बताएकी छिन् ।
यता कार्यक्रममा प्रदेश नंं २ का मिडिया काउन्सिलका अध्यक्ष श्याम सुन्दर यादवले महिला पत्रकारहरूको सुरक्षा तथा क्षमता विकासका लागि काउन्सिल सहयोग गर्नका लागि तयार भएको बताए । प्रदेश २ को आम सञ्चार प्राधिकरणका अध्यक्ष शिवहरि भट्टराईले महिला पत्रकारहरूको सुरक्षाका लागि आत्मबल बढाउन प्रशिक्षण जरुरी रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंका अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको अन्तरक्रियामा नेपाल पत्रकार महासंका पूर्व अध्यक्ष उमेश साह सहितका अन्य पत्रकारहरूले पनि महिला तथा पुरुष पत्रकारहरूलाई क्षमता विकास सम्बन्धी प्रशिक्षण आवश्यक रहेको उल्लेख गरेका छन् ।
१३ वर्षअघि जनकपुरधामको स्थानीय रेडियो टुडेमा कार्यरत महिला पत्रकार उमा सिंहको जनकपुरधामको वडा नंं १४ रजौलमा रहेको डेरामा खुकुरी प्रहार गरी गम्भीर बनाइउको थियो । निर्मता पूर्वक खुकुरी प्रहार गरी घाइते बनाइएकी पत्रकार सिंहको उपचार हुँदाहुँदै मृत्यु भएको थियो ।