विराटनगर- डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
मोरङको बेलबारी–८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।



जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारूङका अनुसार अभियुक्तहरूले फागुन २७ गते घरबाट बच्चालाई चोरेर सुन्दरहरैचा नगरपालिका वडा नम्बर ७ स्थित गणेशपुरको वनमारा र बयरघारीमा लगेर बलात्कार गरेको खुलेको छ ।
घटनास्थल बालिकाको घरदेखि १५० मिटर उत्तर पश्चिम दिशामा रहेको छ ।
बालिका एकाएक हराएपछि खोजी गर्ने क्रममा परिवारले गम्भीर अवस्थामा बच्चालाई फेला पारेर उपचारका लागि नोबेल अस्पताल विराटनगर लगेकामा २८ गते मृत्यु भएको थियो । प्रहरीका अनुसार घटनास्थलबाट बालिकाको सुरुवाल खुल्लै थियो भने टाउकोको दायाँ बायाँ सुन्निएको थियो । यस्तै योनिमा केही रगत जस्तो देखिने पदार्थ आएको थियो ।
गाँजाको सुरुमा बलात्कार पछि हत्या
फागुन २७ गते दिउँसो अन्दाजी ३ बजेको समयमा अजय चौधरी गछिया खोलामा बालुवा चाल्दै थिए । सोही क्रममा उनका दाइ मिथुन भेट भएपछि उनीहरुले केरा बगानमा गई गाँजा खाएका थिए । गाँजा खाई सकेपछि नशाको सुरमा अजय चौधरीले पहिला पनि बच्चालाई घरमा एक्लै देख्ने गरेको हुँदा त्यो बच्चा ल्याउँछु भनेर हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
त्यसपछि उनले बच्चालाई चोरेर बनमारा झाडीमा लगेको प्रहरीको भनाइ छ । अजय चौधरीले बलात्कार गरेको र बालिका रुन थालेपछि पीडितको टाउकोमा बियरको बोतल तथा ढुंगा समेतले हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । तत्पश्चात् मिथुन चौधरीले समेत करणी गरी पीडितलाई सोही स्थानमा छाडी फरार भएका थिए । घटनाको अनुसन्धानपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । -रातोपाटी




