
सप्तरी- जनता समाजवादी पार्टी नेपाल सप्तरीले शुक्रबार सीमा नाकामा आवतजावत सरल र सहज बनाउन माग गरेको छ । जसपा सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सप्तरीमा सीमा नाकामा आम जनतालाई आवतजावत सहज बनाउन माग गरेको हो ।
जिल्ला अध्यक्ष केदार यादवको नेतृत्वको टोलीले प्रजिअ किरण थापालाई ज्ञापनपत्र बुझाउँदै सीमा नाकाहरुमा आम जनतालाई आवतजावतमा सहजता बनाउन आवश्यक पहलकदमी लिन आग्रह गरेका छन् ।

सप्तरीमा केही दिन यता नेपाल घुम्न तथा आफान्त भेट्न आउने भारतीय नम्बर प्लेटका मोटरसाइकल यात्रीलाई प्रहरीले केरकार गर्ने, गाडी भन्सारमा पठाउने लगायतका क्रियाकलापलाई रोक्न जसपाले माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ थापाले स्थानीय स्तरबाट हुने समस्याको समाधान यहीँबाटै गर्ने तथा यहाँबाट हुन नसक्ने कुराको सम्बोधनका लागि माथिल्लो निकायसँग समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बुझाएको ज्ञापनपत्रमा केही समय यता सप्तरीका प्रहरी प्रशासनले भारतीय नम्बर प्लेटका मोटरसाइकल नेपाल प्रवेशमा रोक लगाउनुका साथै नियन्त्रणमा लिएर भन्सार कार्यालयमा जिम्मा लगाई लिलाम गर्ने जस्ता कार्य भइरहेको थियो । सदियौंदेखि नेपाल र भारत बीचको ऐतिहासिक सम्बन्धलाई चिस्याउनुको साथै रोटीबेटीको सम्बन्धमा आँच आउनु जस्ता व्यवहारले दुई मित्रराष्ट्रबीचको मैत्रीपूर्ण सम्बन्धमा ठाडो चुनौती थपिएको ज्ञापनपत्रमा उल्लेख छ । उक्त अवसरमा जसपाका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।