मो. इसराफिल राइन,काठमाडौं- “त चिता म पूरा गर्छु” भन्ने संकल्पलाई आत्मसात् गर्दै गुरुकुलका गोठालोले वि.सं. २०३३ सालमा पर्वतीय पूर्व वटुकद्वारा स्थापित शंकर आदर्श पुस्तकालयको ऐतिहासिक पहिचान जोगाउने अभियानलाई तीव्रता दिएका छन्। यसै अभियानअन्तर्गत मधेश प्रदेश सरकारको सहयोगमा पुस्तकालयको नयाँ भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

पुस्तकालयलाई आधुनिक, व्यवस्थित र सुविधा सम्पन्न बनाउने उद्देश्यले देशभरबाट पुस्तक संकलन अभियान सञ्चालन गरिएको छ। अभियानका क्रममा विभिन्न शिक्षाविद्, प्राध्यापक, लेखक, प्रकाशक तथा शुभेच्छुकहरूले पुस्तक दान गर्दै अभियानलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।




अभियानको सुरुवातमा गुरुकुलका अभिभावक तथा आदरणीय प्राचार्य–प्राध्यापक अच्युतप्रसाद लामिछानेले एक दर्जन पुस्तक प्रदान गर्दै अभियानलाई ऊर्जा दिएका छन्। त्यसैगरी लेखक मोहन पोख्रेलले आफ्नै लेखनका तथा काष्ठमण्डप प्रकाशनबाट प्रकाशित करिब डेढ दर्जन पुस्तक सहयोग गरेका छन्।

यस अभियानमा विदुर पौडेल तथा वाल्मीकि विद्यापीठको प्रशासनमा कार्यरत टेकनाथ पाण्डेयको योगदान पनि उल्लेखनीय रहेको बताइएको छ। सहप्राध्यापक प्रकाश तिवारीले आठ वटा पुस्तक दान गरेका छन् भने गुरुकुलका गोठालोले ती पुस्तकलाई भावी पुस्तासम्म सुरक्षित राख्ने संकल्प व्यक्त गरेका छन्।

त्यस्तै, पशुपतिका पूर्व भट्ट तथा लेखक डा. विष्णुप्रसाद दाहालले आफूले लेखेका पुस्तकहरू दान गर्नुका साथै आगामी दिनमा समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
पुस्तक संकलन अभियानमा वाल्मीकि विद्यापीठका ज्योतिष विषयका गुरु दीपक घिमिरेको पहलमा अस्मिता प्रकाशनकी निर्देशक प्रतिमा शर्माले करिब १० हजार रुपैयाँ बराबरका कक्षा ११ र १२ का पाठ्यपुस्तक तथा प्रश्नपत्र सङ्ग्रह उपलब्ध गराएकी छन्। निश्वार्थ भावनाले गरिएको उक्त सहयोगप्रति गुरुकुल परिवारले आभार व्यक्त गर्दै अस्मिता प्रकाशनको निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेको छ।

एकै दिन १०४ वटा पुस्तक संकलन गर्न सफल भएको अभियानमा गुरुकुलका शिष्यद्वय कौशल भट्टराई र घनश्याम भट्टराईले पुस्तक ओसारपसार गर्नुका साथै आगामी दिनमा थप पुस्तक संकलनमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। उनीहरूको योगदानलाई पनि अभियानले उच्च मूल्यांकन गरेको छ।
गुरुकुलका गोठालोले आफ्नो स्वास्थ्य परीक्षणसँगै राजधानीमा पुस्तक संकलन अभियानलाई निरन्तरता दिइने जानकारी दिएका छन्। शंकर आदर्श पुस्तकालयलाई अनुसन्धान, अध्ययन र ज्ञानको समृद्ध केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित सबै शिक्षाप्रेमी, लेखक, प्रकाशक, पूर्वविद्यार्थी तथा शुभेच्छुकलाई पुस्तक तथा अन्य आवश्यक सहयोगका लागि हार्दिक अपिल गरिएको छ।

पुस्तकालयको इतिहास संरक्षणसँगै नयाँ पुस्तामा अध्ययन संस्कृतिको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको यो अभियानलाई शिक्षा र संस्कृतिको संरक्षणतर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।





