धनुषा- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले सधैँ मधेशको पक्षमा रहेको बताएका छन्। उनले तराई मधेशको खुशीमा देशको खुशी नीहित रहेको बताए।
एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई आज सोमबार जनकपुरधाममा सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले मधेशमा रहेको भेदभाव र गरिबीविरुद्ध एमाले उभिएको कारण अहिले मधेशमा एमालेमा प्रवेश गर्नेको लहर चलेको दाबी गरे।
उनले एमाले कुनै नेताको पार्टी नभएर जनताको पार्टी भएको भन्दै अब हुने तीन वटै निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरे। एमालेको भाग्य र भविष्य जनतासँग जुडेको विषय भएकाले पार्टीको भाग्य र भविष्यसँग खेलबाड गर्ने अधिकार कुनै नेतामा नरहेको जिकिर गर्दै उनले भने, ‘‘सङ्गठनात्मक अराजकता भएमा पार्टी समाप्त हुने भएकाले अबको एमाले सङ्गठनात्मक अराजकताको खिलापमा खडा हुने छ।’’
उनले राजनीतिक स्थायित्व प्राप्त गर्नआउने दिनमा एमालेका नेता कार्यकर्ताले एकताबद्ध भएर काम गर्नुपर्ने बताए। धनुषा जिल्ला एमालेको आधार भूमि भएको भन्दै एमालेलाई मजबुत बनाउनमा यहाँका नेता कार्यकर्ताले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले तराई मधेशको नागरिकताको समस्या समाधानका लागि विगतमा एमाले नेतृत्वको सरकारले तत्परता देखाए पनि सरकार ढलेका कारण काम हुन नसकेको भन्दै नागरिकताको समस्या यथाशीघ्र समाधानका लागि सरकारसँग माग गरे। नेता पोखरेलले सरकार ढल्ने डरले वर्तमान गठबन्धन सरकारले राष्ट्रिय स्वाभिमानको विषयमा बोल्न नचाहेको आरोप लगाए। वरिष्ठ उपाध्यक्ष पोखरेलले भारत र चीन दुवै छिमेकी राष्ट्रसँग एमालेले समान सुमधुर सम्बन्ध राख्न चाहेको बताए। ‘‘खुल्ला सीमाना र बेटी रोटीको सम्बन्ध रहेको कारण हामी भारतसँग नजिक छौँ, संस्कृति, पहिरन र भाषा मिल्दोजुल्दो भएको कारण आत्मीय सम्बन्ध छ,’’ उनले भने।
कार्यक्रममा एमालेका सचिव रघुवीर महासेठले एमाले मधेशमैत्री पार्टी भएको भन्दै एमाले नेतृत्वको सरकारले मधेशका लागि दुईसय पचास वर्षमा हुन नसकेको काम साढे तीन वर्षमा गरेर देखाएको बताए।
एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा भएको उदघाटनसत्रमा एमालेका पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेशका सहईन्चार्ज लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतोसहितका नेताहरूले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए।




