
काठमाडौँ- साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
भुटानविरुद्ध नेपालको यो लगातार चौथो जित हो । चारवटै खेलमा नेपालले गोल खाएको छैन । नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले २–२ गोल गरे ।
१२ औँ मिनेटमा भण्डारीको गोलसँगै नेपालले अग्रता लिएको थियो। यो सावित्राको ३ वर्षपछिको कम्ब्याक गोल हो । डेब्यु खेलाडी फरवार्ड अमिषा कार्कीको पासमा उनले गोल गरेकी थिइन् ।
६८ औँ मिनेटमा सावित्राले दोस्रो गोल गरिन् । यो उनको नेपालको लागि ४० औँ गोल पनि हो । ७३ औँ मिनेटमा अनिताले नेपालका लागि तेस्रो गोल गरिन् ।
यो अनिताको पाँचौँ अन्तर्राष्ट्रिय गोल हो । खेलको ८४ मिनेटमा अनिताले नेपालको लागि चौथौ र व्यक्तिगत दोस्रो गोल गरिन् ।
पानी परेर भिजेको मैदानमा दुवैतिरका खेलाडीले स्वाभाविक खेल देखाउन सकेनन् । राष्ट्रिय फुटबल टोलीका लागि मिडफिल्डर दिपा शाही र फरवार्ड अमिषाले आज डेब्यू गरेका छन् ।
नेपाल पहिलोपटक साफको उपाधि जित्ने योजनामा छ । यो संस्करणमा साफका सबै देशले सहभागिता जनाएका छन् । प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ ।