युग पाठक
भताभुङ्ग भावभङ्गी र निन्याउरो अनुहार कांग्रेसलाई खासै सुहाउँदैन । यद्यपि, आजको कांग्रेस त्यस्तै भावभङ्गीमा प्रदर्शन गरिरहेछ । ‘तारक मेहताका उल्टा चश्मा’ शैलीको धारावाहिक बैठकपछि बल्लतल्ल नियमित महाधिवेशन गर्ने टुंगोमा पुग्यो, अन्ततः सक्रिय सदस्यताको किचलोमा पुगेर अधकल्चै रोकियो । फेरि घुमेर विशेष महाधिवेशनको घान हालिसकेपछि कांग्रेस वार या पारको राजनीतिक भँगालोमा आइपुगेको छ । अनास्था, अविश्वास र घाइते मनोदसाले ग्रस्त कांग्रेस आफूभित्र आफैंलाई खोजिरहे झैं प्रतित हुन्छ ।
कांग्रेस आखिर के हो ? फगत एउटा पार्टी हो कि लोकतान्त्रिक विचारको अविछिन्न पहरेदार ? फगत पार्टी हो भने एउटा पार्टीको विकल्पमा अर्को पार्टी जन्मिन्छ, हुर्किन्छ र जराजीर्ण पार्टीलाई विस्थापित गरेर खडा हुनसक्छ । राजनीतिको रङ्गमञ्चमा पात्रहरू मात्र बदलिँदैनन्, नाटक नै पनि बदलिरहने गुञ्जाइस् रहन्छ । इतिहास केवल नियमित आकस्मिकता बग्ने नदी होइन, संगठित र सुविचारित हस्तक्षेपले इतिहासको भङ्गालो फुटाइदिन सक्छ, धार नै बदल्दिन पनि सक्छ । लोकतान्त्रिक विचारको पहरेदार हो भने फगत एउटा पार्टी भैरहनुमा कांग्रेसले आफ्नो अस्तित्वको अर्थवोध गर्न सक्ला ?
यद्यपि, यो सैद्धान्तिक मापदण्ड सबै पार्टीमा लागू हुन्छ, यहाँ भने प्रसंगवस कांग्रेसको चर्चा गर्न खोजिएको छ । सभापति शेरबहादुर देउवापक्षको विरोध र केन्द्रीय समितिको बहुमत अस्वीकृतिका बाबजुद कांग्रेसले विशेष महाधिवेशनको मञ्च सजाएको छ । आफैंमा अन्तिर्निहित प्रतिकूलता यो मञ्चले कसरी सामना गर्ला वा मञ्चको अन्तर्वस्तु महाधिवेशन स्तरको होला–नहोला भन्नेमा सार्वजनिक चासो छँदै छ । अथवा यही विशेष मञ्चबाट कांग्रेस विभाजित होला ? निर्माणाधीन इतिहासको एउटा रहस्य अहिलेलाई भृकुटीमण्डपको पर्दाभित्र सुरक्षित छ ।
महाबहसको मञ्च
जेनजी विद्रोहले कांग्रेसलाई पनि आठ रेक्टर स्केलको धक्का दिएको तथ्य ताजै छ । आफ्नो ८० वर्षको इतिहासमा मूलतः राजनीतिक विद्रोह र आन्दोलनहरूको नेतृत्व गरेको कांग्रेस आफैं पहिलोपटक भदौरे विद्रोहको निशाना बन्न पुग्यो । कुनै पनि सार्वजनिक विद्रोहले ‘खलनायक’ करार गर्नु जुनसुकै राजनीतिक शक्तिको लागि घातक हुनसक्छ । विशेष महाधिवेशनमा देखिएको तदारुकता कांग्रेसजनको यही छटपटिबाट पैदा भएको मान्न सकिन्छ ।
कांग्रेसभित्र पैदा भएको संकट जेन जी विद्रोहपछि बनेको राष्ट्रिय संकटकै उपज हो । कांग्रेस मात्रै किन, यतिखेर सबै पार्टी ऐतिहासिक संक्रमणबाट गुज्रिरहेका छन् । नयाँ/पुराना सबै पार्टी भत्किने र बन्ने घनचक्करबाटै गुज्रिरहेका छन् । कांग्रेस भने अरु पार्टीको तुलनामा सुस्तसुस्त हिँड्दै आयो र विशेष महाधिवेशनमार्फत एकमुष्ठ विस्फोटक पटाक्षेप हुने ठाउँमा पुग्यो । अरु पार्टीहरू राजनीतिक परिचालन गर्दै जनतामा पुगिसक्दा, कांग्रेस लामो र उदेकलाग्दो आन्तरिक खिचातानीमा काठमाडौंमै रुमल्लिरहेको देखियो । सबै राजनीतिक शक्तिहरू चुनावपछि थोरबहुत थेग्रिने अनुमान गर्न सकिन्छ, तर कांग्रेस भने चुनावपछि पनि थेग्रिन नसक्नेगरी संकटको स्थगन र ढिलाइ गर्ने उपक्रम बाँचिरहेको छ ।
राजनीतिको क्रीडा बडो निर्मम हुन्छ । भदौ चौबिस गतेको विध्वंशक विद्रोहमा कांग्रेस सभापति देउवा भौतिक आक्रमणमै परे । वयोवृद्ध उमेरमा खेप्नुपरेको त्यो त्रासदीले उनलाई अझैसम्म झस्काइरहेकै हुनुपर्छ । यद्यपि, त्यो आक्रमणले देउवाको ज्यानमा भन्दा ठूलो दखल कांग्रेसमा पारेको तथ्य कांग्रेसीहरूले कति आत्मसात् गरेका छन्, त्यो अझै स्पष्ट भैसकेको छैन । यस्तो संकटमा देशभरीका नेता/कार्यकर्ताहरू भेला हुने, विचार एवम् आत्मियता साटासाट गर्ने, अनि गहन राजनीतिक निरुपणमा होमिने कमसेकम एउटा मञ्च बनाउन जरुरी हुन्छ । कांग्रेसको वैधानिक व्यवस्थाले महाधिवेशनको मिति हातैमा टक्र्याएकै पनि हो । तर कांग्रेसले न त भदौरे विद्रोहलाई स्पष्टसँग व्याख्या गर्न सक्यो, न राष्ट्रव्यापी बहसको आयोजना गर्न सक्यो । संकटको स्थगन, राजनीतिक पहलमा ढिलासुस्ती र आन्तरिक शक्ति संघर्षको लेखाजोखामै उसले दिन बिताइरह्यो ।
जे जस्तो भए पनि विशेष महाधिवेशनले कांग्रेसलाई एउटा राष्ट्रिय जमघटको अवसर दिलाएको छ । आन्तरिक शक्ति संघर्षका कारण एउटा पक्ष नकरात्मक नै रहे पनि देशभरका कांग्रेसीहरूका निम्ति यो एउटा मन माझामाझ गर्ने मौका हो । संकट देशव्यापी छ भने महाबहसको मञ्च पनि सोहीअनुरुप हुनैपर्छ । त्यसैले विशेष महाधिवेशन कांग्रेसको संस्थागत स्वास्थ्यका निम्ति लाभदायक छ ।
नेतृत्व परिवर्तनको रन्को
राजनीति र समाजमा बेलाबखत विशिष्ट भाष्यहरू सिर्जना हुन्छन् । विद्रोहलाई जुनसुकै नजरियाले हेरे पनि जेनजी विद्रोहको भावना र मर्म समेट्ने कुरा अहिले राजनीतिको मूल भाष्यमा प्रवेश गरेको छ । त्यो भावना र मर्म के हो भन्ने बारेमा भने भिन्नभिन्न धारणा र व्याख्याहरू छन् । हुन त जेनजी आन्दोलनले मूलतः अभिव्यक्ति स्वतन्त्रताको (अ–सामाजिक सञ्जाल बन्दको विरुद्ध) मागसहित भ्रष्टाचारको विरुद्ध नारा लगाएको थियो । तथापि, विद्रोहउपरान्त राजनीतिमा पुस्तान्तरणको कुरा पनि जोडतोडले उठेको छ ।
राजनीतिमा पुस्तान्तरण र शीर्ष नेताहरूले विश्राम लिनुपर्ने धारणा कांग्रेस नेता गगन थापाले पनि केही वर्षयता उठाउँदै आएका थिए । ‘नो नट अगेन’को अंग्रेजी नारामार्फत अघिल्लो निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकै जन्म भएको तथ्य पनि छर्लंगै छ । भदौरे विद्रोहपछि चाहिँ पुस्तान्तरणको बहस सबै पर्टीभित्र बलवान् बनेको छ । पुस्ताकै नाममा आन्दोलन उठिसकेपछि पुस्ताको प्रश्न बहसमा आउनु स्वाभाविकै पनि हो । यही राजनीतिक परिदृश्यले कांग्रेसमा पनि पुस्तान्तरणको बहस उत्कर्षमा पुग्यो । त्यसैले कांग्रेसको इतिहासमै दोस्रोपटक आह्वान गरिएको विशेष महाधिवेशन स्वतः विद्रोहको विगुल पनि बन्न पुगेको छ ।
कांग्रेसको विद्रोही पक्षलाई नेतृत्व परिवर्तनको रन्को अवश्य लागेको छ । के विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्ने ल्याकत राख्ला ? गगन थापालाई सभापतिको आसनमा विराजमान गराउला ? यो सँगसँगै उठ्ने महत्त्वपूर्ण प्रश्न पुस्तान्तरणको सैद्धान्तिक प्रक्षेपण के हुने भन्ने नै हो । पुस्तान्तरण भनेको नेतृत्व परिवर्तन मात्रै हो ? सभापति पदमा शेरबहादुर देउवाको म्याद त उसै सकिइसक्यो । गगन थापाले ल्याउन खोजेको नयाँपन चाहिँ के हो त ? सिद्धान्तमा के हो ? नेतृत्व शैलीमा के हो ? नीतिमा के हो ? के अहिलेको संकटको समाधान केही प्राविधिक र कानुनी बन्दोबस्तले मात्र सम्बोधन गर्न सक्छ ? देशमा उत्पन्न राजनीतिक संकटको लेखाजोखा कांग्रेसले कसरी गर्छ ?
नयाँ कांग्रेसको खोजी
लोकतान्त्रिक विचारको पहरेदार हो भने कांग्रेसको भूमिका आज झनै संगीन छ । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान नै खतरामा छ । लोकतन्त्रको स्वाभाविक गति र प्रक्रिया अवरुद्ध छ । यस्तो बेला सबैभन्दा ठूलो मूल्य आधारभूत जनताले चुकाउनुपर्छ । नेपालको सन्दर्भमा आधारभूत जनता त्यो हो जो गरिब छ, सिमान्तकृत छ, दलित र बहिस्कृत छ । भदौरेविद्रोहको परिणाम स्वरूप अर्थतन्त्रमा आएको शिथिलता र संकटको प्रत्यक्ष मार खेप्ने पनि जनताको त्यही तप्का हो । स्थानीय तहमा जाने बजेटको ठूलो हिस्सा कटौती गर्दा आखिर मार कसलाई परेको छ ? जुनसुकै राजनीतिक सामाजिक संकटले पहिलो नम्बरमा समाजको गरिब, सिमान्तकृत र उपेक्षित वर्गलाई नै प्रहार गर्छ ।
अनि लोकतन्त्र तिनै आधारभूत जनताको बलमा खडा हुने व्यवस्था हो । जुनसुकै विद्रोहको फ्रन्टलाइनमा पनि त्यही आधारभूत जनता खडा हुन्छ । त्यसैले आफैँभित्र खोजेर मात्र कांग्रेसले कुनै नयाँ कांग्रेस भेट्न सक्दैन, आधारभूत जनताको जीवनमा सकरात्मक परिवर्तन ल्याउने विचारमा खोज्नुपर्छ । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ भन्ने एउटा सादा भनाइ छ । हो, लोकतन्त्रको बलियो खम्बाका रूपमा स्थापित कांग्रेस कमजोर हुँदा लोकतन्त्रकै भविष्यमाथि खतरा उत्पन्न हुनसक्छ । तर, त्यसका निम्ति जनताको स्वतन्त्रता र शक्ति विस्तारका निम्ति कांग्रेसले सधैँ आफूलाई वैचारिक, राजनीतिक हिसाबले नवीकरण गरिराख्नु जरुरी हुन्छ । अन्यथा कांग्रेस हुँदैमा कांग्रेस सधैँ लोकतन्त्रको पहरेदार सावित नहुन सक्छ ।
विशेष महाधिवेशनबाट के फिनिक्स चरो झैँ कांग्रेस आफ्नै खरानीबाट पुनर्जीवित भएर उठ्न सक्छ ? यो प्रश्नको निरुपण उसको सैद्धान्तिक प्रक्षेपणले नै दिनेछ । केही ठूला पदमा हदबन्दी तोकेर, केही उमेरजन्य कोटा थपेर, भागवण्डा पुर्याउन केही नयाँ पद सिर्जना गरेर कांग्रेसभित्रको कलह त साम्य पार्न सकिएला, जटिल राजनीतिक संकटको सामना गर्न सकिँदैन । त्यसैले कांग्रेस घोत्लिनुपर्छ, कांग्रेस घनघोर बहसमा होमिनुपर्छ, एउटा नयाँ सैद्धान्तिक निरुपणसहित कांग्रेस नयाँ बन्नुपर्छ ।
संविधानसभाको बेलाको जस्तो वा अघिल्ला चुनावहरूको जस्तो कांग्रेसले अबको समाजको नेतृत्व गर्न सक्दैन । नेतृत्व परिवर्तन गरेर वा पुस्तान्तरणको मागलाई एउटा नयाँ अनुहारले जवाफ दिएर मात्र पनि कांग्रेस नयाँ बन्न सक्दैन । कांग्रेसले के चिन्तन गरोस् भने जुन गिरोहतन्त्रमा आफू फँसेको महसुस कांग्रेसजनले गरेका छन्, त्यस्ता अनेकन गिरोहतन्त्रले आधारभूत जनतालाई बहुआयामिक अन्याय, अत्याचार, निषेध, शोषण, थिचोमिचो र दमनमा पारिरहेकै छन् । भलै जेन जी आन्दोलनले सुसंगठित रूपमा यी मुद्दाहरू उठाउन सकेन, त्यत्रो विस्फोटक विद्रोहको ऊर्जा त समाजको भित्री तहमा उम्लिरहेकै थियो । र, अझै पनि उम्लिरहेकै छ ।
अन्त्यमा,
मुलुकमा दक्षिणपन्थको हावा चलिरहेको छ । उदारवादी विश्व व्यवस्थाको हिमायती भएको नाताले कांग्रेसले के पनि बुझ्नुपर्छ भने त्यो विश्वव्यवस्थालाई यसको टाउकोमा बस्नेहरूले नै भत्काइरहेका छन् । दक्षिणपन्थको विनाशकारी बतास आजको अमेरिका र युरोपको पनि चुनौती बनिसकेको छ । कांग्रेस जुन गतिमा छिन्नभिन्न हुन्छ, त्यही गतिमा नेपालमा पनि दक्षिणपन्थले शरीर धारण गर्दै जानेछ । त्यसैले पपुलिस्ट शैलीको सतही पुस्तान्तरणको नाराले मात्रै न त कांग्रेसलाई जोगाउन सक्छ, न त दक्षिणपन्थको बहाव रोक्नसक्छ ।
कांग्रेसभित्र त्यो कांग्रेसको खोजी हुनुपर्छ जो जनतासँग संवाद गर्ने हिम्मत जुटाउँछ । जनजीवनमा आएका संकटहरू बुझ्ने र आत्मसात गर्ने संगठन कांग्रेसले कसरी बनाउँछ ? समाजभित्र कायम रहेका अनेकौं उँचनिच, विभेद र अन्यायका पहलुहरूसँग जुझ्दै समाजलाई उत्पादनशील बनाउन कांग्रेसले के गर्छ ? उदारवादी विश्वव्यवस्था भत्किँन जाँदा उत्पन्न भएको नयाँ सामरिक र आन्तरिक परिदृश्यसँग सामना गर्न विभिन्न तहतप्काका जनतालाई सामूहिक शक्तिमा जोड्न कांग्रेसले के गर्छ ? परनिर्भरताको जालोमा सत्तरी वर्षदेखि फँसेको देशका समस्याहरू विस्फोटमा त सजिलै अभिव्यक्त हुन्छन् तर अग्रगामी बाटो तय गर्न तथ्य र सिद्धान्तका आधारमा गहिरो छलफल र गम्भीर निरुपण जरुरी हुन्छ ।
एउटा पुस्तक ‘राजनीतिक अभिलेख’ मात्रै पढ्दा पनि इतिहासका विभिन्न कालखण्डमा बीपी कोइरालाले गरेका चिन्तन र अनुभवको गहन संस्लेषण थाहा हुन्छ । के कांग्रेस बीपीले जस्तै माथापच्ची गर्न तयार छ ? के ऊ दक्षिणपन्थको दबाबसँग लड्न तयार छ ? आशा गरौं, विशेष महाधिवेशनबाट निस्कँदा कांग्रेस वैचारिक तहबाटै नयाँ बनेर निस्कनेछ । समाज र अन्ततः देशका बहुआयामिक चुनौतीहरू सामना गर्ने हिम्मत बोकेर निस्कनेछ । विशेष महाधिवेशनको विद्रोहले अनि मात्रै औचित्य सावित गर्न सक्नेछ ।-नेपाल भ्युज





