महोत्तरी – राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालले द फ्रिडम फण्डको सहयोग तथा मुक्त हरवाचरवा अधिकार मञ्चसँगको समन्वयमा मुक्त हरवाचरवा अगुवाहरूका लागि दुई दिने अभियान व्यवस्थापन तालिम सुरु गरेको छ ।
महोत्तरीको बर्दिवासस्थित दीपक पार्टी प्यालेसमा बिहीबारदेखि सुरु भएको तालिम शुक्रबार सम्पन्न हुने जनाइएको छ । दक्षिण–पूर्वी तराई क्षेत्रलाई लक्षित गरी आयोजना गरिएको तालिममा मुक्त हरवाचरवा समुदायका २० जना प्रतिनिधिहरूको सहभागिता रहेको छ । तालिमको उद्देश्य समुदायका अगुवाहरूलाई प्रभावकारी अभियान सञ्चालन, नेतृत्व विकास तथा अधिकारमुखी वकालतमा सक्षम बनाउनु रहेको आयोजकले जनाएको छ ।



तालिममा रणनीतिक अभियान निर्माण, मुद्दा पहिचान र विश्लेषण, सन्देश विकास, सरोकारवालासँग समन्वय, सञ्चारमाध्यम परिचालन तथा प्रमाणमा आधारित पैरवी जस्ता विषयमा प्रशिक्षण दिइनेछ । साथै नीतिगत सुझावपत्र तयार गर्ने, सामुदायिक अभियान सञ्चालन गर्ने र अभियानको प्रगति अनुगमन गर्ने व्यावहारिक सीपसमेत सिकाइने कार्यक्रम रहेको छ ।
तालिमको सहजीकरण द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बलराम भट्टराई, राष्ट्रिय दलित नेटवर्क नेपालका कार्यकारी निर्देशक हुकुम सार्की तथा पत्रकार एवं हरवाचरवा अभियानकर्मी बृजलाल पासवानले गरिरहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका अध्यक्ष दशन लाल मण्डलले यस्ता तालिमले मुक्त हरवाचरवा समुदायको आवाज थप सशक्त हुने विश्वास व्यक्त गरे । उनले समुदायलाई संगठित र सक्षम बनाउँदै अधिकार प्राप्तिका लागि प्रभावकारी अभियान सञ्चालन गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।
उनले मुक्त हरवाचरवा समुदायको न्यायपूर्ण पुनःस्थापना, शिक्षा, रोजगारी तथा सम्मानजनक जीवन सुनिश्चित गर्न राज्य थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए ।
राष्ट्रिय दलित नेटवर्क नेपालले यस्ता क्षमता अभिवृद्धि कार्यक्रममार्फत मुक्त हरवाचरवा समुदायको सामाजिक न्याय, सम्मानजनक जीवन तथा अधिकार सुनिश्चितताका लागि निरन्तर पहल गर्दै आएको जनाएको छ ।




