
संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक उपस्थितिमै लिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकले विद्यार्थीहरूलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
कोभिडविरुद्धको खोपलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् । समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत समेत गराएको छ ।
समितिले ट्युसन फि मात्रै लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्यहरूले कोभिडविरुद्धको खोपका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरेर छिटो कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराएका थिए ।
समिति सदस्य एवम् प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद विद्या भट्टराईले तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाएर कक्षा १२ को परीक्षा लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरेकी थिइन् । उनले दुवै खोपको व्यवस्था गरी विद्यार्थीहरूलाई जोखिम नहुने गरी परीक्षाको तयारी गर्न पनि सरकारले ध्यान दिनुपर्ने बताइन् ।