
जनकपुरधाम- धनुषामा आफ्नै श्रीमतिको हत्या गरेको आशंका श्रीमानलाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका ८ किसाननगर बस्ने २२ वर्षीय जीवछ साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
विहिवार राती जीवछकी श्रमती २० वर्षीया चन्द्रकला देवी साहको शव उनि सुतेकै ओछ्यानमा फेला परेको थियो ।
माइती पक्षले दाइजोको कारण घरपरिवार मिलेर छोरीको हत्या गरेको दावी गरेका छन्।
माइती पक्षको आरोप र घटना शंकास्पद रहेको भन्दै प्रहरीले मृतक चन्द्रकलाको श्रीमान् जीवछलाई पक्राउ गरेको छ ।
‘ओछ्यानमै शव फेला पर्यो । झुन्ड्याएको हो कि भन्ने हाम्रो आशंका छ। त्यसैले चन्द्रकलाको श्रीमान् जिवछलाई पक्राउ गरेर अनुसन्धान थालेका छौं । पोस्टमार्टम रिपोर्ट आएपछि यथार्थ कुरा खुल्छ’ धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले भने ।
चन्द्रकलाका बुबा धनुषाधाम नगरपालिका २ पुनरदाहा बस्ने रामलखन साहको अनुसार ‘राति १ बजे चन्द्रकलाको घरबाट छोरी एकदमै गम्भीर भएकोले चाँडै आउनुस् भनेर फोन आयो’ ‘हामी डेढ बजे राति पुग्दा परिवारजनले तपाईंको छोरी मरि। सुतेको ओछ्यानमै मृत्यु भयो भने।’
यति भनेपछि ओछ्यानमा हेर्न जाँदा चन्द्रकलाको मृत्यु भइसकेको र घाँटी थिचेको जस्तो डाम देखिएको बुबा रामलखनले बताए।
चन्द्रकलाको आठ महिना अघि मात्र मंसिरमा सामाजिक परम्परा अनुसार जिवछसंग विवाह भएको थियो। बुबा रामलखनका अनुसार दाइजोमा एउटा मोटरसाइकल बापत ४ लाख नगद, दुईतोला सुन र डेढ लाखको फर्निचर सहितको सामान दिइएको थियो।
केहि महिना अघिदेखि ज्वाइँ जीवछले विदेश जान थप दुई लाख रुपैयाँ दाइजो माग्दै आएको र सोही निहुँमा छोरीलाई कुटपिट सहित यातना दिने गरेको बुबा रामलखनले जानकारी दिए ।
त्यसरी यातना दिँदा एक महिनाअघि माइत पक्षबाट केही समाजलाई लिएर गई जिवछलाई सम्झाई बुझाइ गरिएको थियो। तापनि घरमा चन्द्रकलालाई कुटपिट गर्ने गरेकाले परिवारजन नै मिलेर छोरीको हत्या गरेको बुबा रामलखनको दाबी छ।
चन्द्रकलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।