काठमाण्डौं- दाइजोमा ५० लाख रुपियाँ माग्दै विवाह रद्द गर्न खोज्ने सुनसरीको दुहवी नगरपालिका-६ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका-१३, ताहाचल बस्ने ३२ वर्षीय बेहुला अनुराग रौनियारलाई प्रहरीले ०८० असार १२ गते गिरफ्तार गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार अमेरिकी ग्रिनकार्ड होल्डर समेत रहेका रौनियारले बेहुलीको पक्षबाट जन्तीलाई राम्रो स्वागत नगरेको र आफूले मागे बमोजिम दाइजो नपाएको भन्दै विवाह रद्द गर्ने धम्की दिएका थिए ।



विवाह खर्च भन्दै बेहुला पक्षले बेहुली पक्षबाट पटकपटक गरी २२ लाख रुपियाँ लगेको र अझै दाइजो नपाएको भन्दै बेहुलीलाई गाली, बेइज्जती र हातपात समेत गरेको एसपी रिजालले जानकारी दिनुभयो ।
घटनाबारे खबर पुगेपछि प्रहरी वृत्त मालीगाउँबाट प्रहरीको टोली काठमाडौँ महानगरपालिका-१ नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेस पुगेर बेहुलालाई गिरफ्तार गरेको थियो ।
रौनियारविरूद्ध जिल्ला अदालतबाट ०८० असार १२ गते विवाहमा दाइजो लिन नपाउने कसुरमा पाँच दिनको म्याद लिएर प्रहरी वृत्त मालिगाउँले घटनाबारे अनुसन्धान गरिरहेको एसपी रिजालले बताउनु भयो ।




