महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका स्थित राष्ट्रिय मावि कान्तिबजार ले वैशाख महिनाकी उत्कृष्ट शिक्षिकाको रूपमा गुलाब देवीलाई सम्मान गरेको छ ।
बालविकासतहमा अध्यापन गर्दै आएकी शिक्षिका गुलाबले वैशाख महिनाभरि विद्यालयले तोकेको कार्यसम्पादन उत्कृष्ट रूपमा पूरा गरेको भन्दै उनलाई प्रशंसापत्रसहित सम्मान गरिएको विद्यालय स्रोतले जनाएको छ ।




विद्यालयका प्रधानाध्यापक रामस्नेही यादव ले शिक्षिका गुलाब देवीको समर्पण, मेहनत, कर्तव्यनिष्ठा, नियमितता तथा विद्यार्थीप्रति देखाएको माया र जिम्मेवारीपूर्ण कार्यशैलीको कदर गर्दै उनलाई २०८३ साल वैशाख महिनाकी उत्कृष्ट शिक्षिकाको रूपमा चयन गरिएको जानकारी दिए ।

प्रधानाध्यापक यादवका अनुसार शिक्षिका गुलाब नियमित रूपमा विद्यालय आउने, प्रभावकारी कक्षा व्यवस्थापन गर्ने, बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउने, कक्षाकोठा सरसफाइमा ध्यान दिने तथा दिवा खाजा व्यवस्थापनमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् । उनले यस्ता सम्मान कार्यक्रमले विद्यालयमा सकारात्मक प्रतिस्पर्धा सिर्जना हुने र शिक्षण सिकाइको गुणस्तर थप सुधार हुने विश्वास व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष सिंह ले विद्यालयमा राम्रो काम गर्ने शिक्षक–शिक्षिकालाई सम्मान गर्ने परम्पराले अन्य शिक्षकलाई पनि थप जिम्मेवार र उत्प्रेरित बनाउने बताए । उनले गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे ।

विद्यालयले पूर्वघोषित कार्यक्रमअनुसार नै शिक्षिका गुलाबलाई सम्मान गरिएको जनाएको छ । कक्षा १२ सम्म अध्यापन हुने उक्त विद्यालयमा हाल ३२ जना शिक्षक कार्यरत रहेका छन् ।








