
जनकपुरधाम- मिथिला नाट्यकला परिषद्को बहुचर्चित फागु महोत्सव बिहीबार अपराह्नदेखि सुरु भएको छ । दुई दिवसीय महोत्सवको पहिलो दिन डम्फा प्रतियोगिता तथा हाँस्य कवि सम्मेलन एवं दोश्रो दिन आज शुक्रबार महामूर्ख सम्मेलनको आयोजना हुँदैछ।
विगत २६ वर्षदेखि मनाउँदै आएको ‘फागु महोत्सव’ को पहिलो दिन धनुषा र महोत्तरीका गाउँहरुबाट १० वटा डम्फा समूह सहभागी भएको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले जानकारी दिए । मल्लिकका अनुसार– ती समूहहरुबीच होरी गीत गायन, डम्फा वादन तथा जोगिडा गायनको प्रतिस्पर्धा भएको छ । विजयी तीन समूहलाई पुरस्कार तथा अन्य समूहलाई प्रशस्तीपत्र प्रदान गरिने छ।
जानकी मन्दिर प्रांगणमा आयोजना भएको फागु महोत्सवको आरम्भ भने हाँस्य कवि गोष्ठीबाट भएको हो । जसमा जनकपुरका कवि साहित्यकारहरुको उपस्थित रहेको कवि गोष्ठीका संयोजक विजय दत्त मणिले जानकारी दिए ।
फागु महोत्सवको दोश्रो दिन आज शुक्रबार होली गायन र नृत्यसँगै महामूर्ख सम्मेलनको आयोजन हुने छ । जसमा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान दिने एक दर्जन विशिष्ट व्यक्तिहरुलाई मूर्खको तथा एक जनालाई महामूर्खको उपाधि प्रदान गर्ने परम्परा छ ।
मिनापका अर्का पूर्वअध्यक्ष सुनिल मिश्र मिथिलाको प्रसिद्ध फागु गीत गायन परम्परालाई संरक्षण गर्न तथा फागुको अवसरमा समाजिक सद्भाव बढाउन महोत्सवको आयोजन गरिएको जानकारी दिए ।
यस वर्ष महामूर्खको उपाधि कस्ले पाउला भन्ने धेरैको चासोको विषय बनेको छ ।
मिनापले यस पटकको महामूर्खका लागि करिब दुई दर्जन विशिष्ट व्यक्तिहरूको सूची बनाएको छ । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, भाषा वैज्ञानिक डा. भोगेन्द्र यादव, भाषाविद् डा. रामदयाल राकेश, प्रा.डा. भोगेन्द्र झासहितका मध्ये एक जनालाई महामूर्खको उपाधि प्रदान गर्ने योजना रहेको महासचिव मल्लिकले बताए । त्यस्तै, अन्य १ दर्जनलाई अन्य उपाधि प्रदान गरिने उनले बताए ।