काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ स्थित शंखमुलमा दिनदहाडै १० जनाको समूहले एक युवकलाई खुकुरी प्रहार गरेका छन् । बुधवार खुकुरी प्रहारबाट दोलखाको भीमेश्वर नगरपालिका घर भई ललितपुरको टिकाथली बस्दै आएका २५ वर्षीय सुरज खड्का घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सुरजलाई खुकुरी हान्ने मध्येका ५ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा दोलखा नाम्दु घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुरको थिमीमा बस्ने २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक घर भएका प्रवीण नेपाल छन् । रामेछापको मन्थली घर भएका राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका घर भएका २७ वर्षका सञ्जीव मोक्तानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रेमिका खोसेको निहुँमा सुरजमाथि खुकुरी प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । शंखमुल स्थित भोटाहिटी फलफूल, जुस तथा जनपकुरी लस्सी पसल अगाडी वा.९३ प २२९ नम्बरको मोटरसाइकल, दुईओटा स्कुटर र ५५४२ नम्बरको मोटरसाइकलमा आएका युवाहरूले सुरजलाई खुकुरी हानेर भागेका थिए । खुकुरी प्रहारबाट उनको बायाँ खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । खुकुरी प्रहारमा संलग्न अनिलराज गिरी र दोलखा बैत्यश्वर गाउँपालिका घर भएका विकास लामा फरार छन् ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूको बिचमा लेनदेन विवाद पनि देखिएको अपराध महाशाखाका एसपी कोइरालाले जानकारी दिए । - रातोपाटी