ढल्केवर । संघीय सरकारकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री आज ढल्केवर आउने भएकी छिन् ।
बिहीबार मन्त्री झाँक्री धनुषाको ढल्केवर आउन लागेको नेकपा एकीकृत समाजवादी पार्टीका धनुषा सचिव सोमप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार आज दिउँसो २ बजे ढल्केवर आउन लागेको हो ।



मन्त्री झाँक्रीसँगै मधेस प्रदेशको उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो पनि आउने कार्यक्रम रहेको सचिव शर्माले जनाए ।
ढल्केवर ट्रमा सेन्टरको लागि प्रस्तावित जग्गाको अवलोकन गर्न मन्त्री झाँक्री आउन लागेको बुझिएको छ । हाल मिथिला नगरपालिका–७, साविकको ढल्केवर गा.वि.स वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा रकम विनियोजन गरेको छ ।
तर प्रस्तावित जग्गालाई सहरी विकास तथा भवन निर्माण विभागको जनकपुरधामस्थित संघीय आयोजना कार्यान्वय इकाईले मापदण्डको बहाना देखाएर उक्त जग्गा अनुपयुक्त रहेको बताउँदै आएपछि मन्त्री झाँक्री आफै जग्गा अवलोकन गर्ने भएको हो ।
सहरी विकास मन्त्रालय मातहत रहेको सहरी विकास तथा भवन निर्माण विभागको संघीय आयोजना कार्यान्वय इकाई धनुषा जनकपुरधामका आयोजना प्रमुखले ट्रमा सेन्टरको योजना अन्यत्र सार्ने चलखेलमा संलग्न रहेको स्थानीयहरुले आरोप लगाउँदै आएका छन् ।




