
महोत्तरी । जलेश्वर नगरपालिकाका रामवरण यादव तेस्रो लिङ्गी हुन्। स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली टिपाउँदा उनले आफ्नो लैङ्गिक पहिचान स्पष्ट खुलाएर फाराम भरे । तर अन्तिम नामावली आउँदा उनलाई निर्वाचन आयोगले पुरुष बनाइदिएछ।
नीलहीरा समाज महोत्तरीका अध्यक्षसमेत रहेका सत्यनारायण साहले पनि नामावलीमा आफू तेस्रो लिङ्गी भएको खुलाए । तर आयोगले उनलाई पनि पुरुष लिङ्गकै रूपमा पहिचान दिएर परिचय पत्र थमायो । महोत्तरीस्थित नीलहीरा समाजका अनुसार जिल्लामा ९ हजार ५०० बढी तेस्रो लिङ्गी छन् । मतदाता नामावली सङ्कलनको क्रममा पनि सबैले तेस्रो लिङ्गी भनेरै फाराम भरे। तर आश्चार्यलाग्दो तथ्याङ्क ! जिल्लाका १५ स्थानीय तहका कुल ३ लाख ३६ हजार ९५ जना मतदातामध्ये एक जनाले मात्र मतदाता नामावलीमा तेस्रो लिङ्गीको पहिचान पाए। बर्दिबास– ८ का बुद्धबहादुरलाई मात्र निर्वाचन आयोगले तेस्रो लिङ्गीको पहिचान दिएपछि जिल्लाका तेस्रो लिङ्गीले आपत्ति जनाएका छन् ।
९ हजारभन्दा बढीले आफू तेस्रो लिङ्गी भएको भन्दै मतदाता नामावलीमा नाम टिपाए पनि बुद्धबहादुरले मात्र किन आफ्नो पहिचानसहितको मतदाता नामावली पाए भन्ने विषय नीलहीरा समाजमा यतिबेला बहसमा छ। जलेश्वरस्थित नीलहीरा समाजमा आबद्ध यादव संविधान प्रदत्त आफ्ना अधिकारलाई निर्वाचन आयोगले कुण्ठित गरेको भन्दै आक्रोसित छन्। ‘हामी आफै तेस्रो लिङ्गी हौँ भनेर खुलेर आइरहेका छौं, हामीलाई महिला र पुरुष बनाउने अधिकार निर्वाचन आयोगलाई कसेले दियो ?’ उनको प्रश्न छ। प्रकृतिले महिला, पुरुष र तेस्रो लिङ्गी निर्माण गरे पनि आयोगले जबरजस्ती महिला या पुरुषमा रूपान्तरण गरिदिएकोमा उनीहरु आक्रोसित छन् ।
संविधानमा समेत कुनै विभेद हुनेछैन भनेर उल्लेख गरे पनि आयोगदेखि स्थानीय राजनीतिक दलसम्मले आफूहरूमाथि विभेद गरी संविधानको उल्लंघन गरेको उनीहरूको गुनासो छ। नीलहीरा समाज महोत्तरीका अध्यक्ष सत्यनारायण साह स्थानीय तहले समेत तेस्रो लिङ्गीलाई विभेद गरेको बताउँछन् । ‘हामीले पटकपटक जसरी महिला, दलित, मुस्लिमका लागी आरक्षण गरिएको छ त्यसरी नै तेस्रो लिङ्गी पनि समेटिनुपर्ने आवाज उठायौँ तर निर्वाचन आयोगले समेत हामीलाई हाम्रो पहिचान दिन मानेन’, उनको गुनासो छ । तेस्रो लिङ्गीलाई पनि पनि निर्वाचनमा उम्मेदवार बनाउनै पर्ने प्रावधान कानुनले अझै उल्लेख नगरेकाले आफूहरूको लडाइँ नसकिएको अध्यक्ष साहको भनाइ छ। लिङ्ग पहिचानको खोजीमा रहेका तेस्रो लिङ्गीले २०७४ को निर्वाचनदेखि नै निर्वाचन आयोगलाई ध्यानाकर्षण गराए पनि हालसम्म सुनवाइ नभएको बताएका छन् ।
‘मैले मतदाता सूचीमा तेस्रो लिङ्गी नै समावेश गराएको हो, तर परिचयपत्रमा भने पुरुष भनेर आएपछि म आश्चार्यमा छु’, साह भन्छन्। पहिचान बिग्रिएपछि उनी उजुरी बोकेर निर्वाचन आयोगको कार्यालय पनि पुगे। तर आयोगले उनलाई नागरिकता र मेडिकल प्रमाण ल्याउन भन्दै फर्काइदियो । पछिल्ला दिन आफ्नो लिङ्गबारे खुल्दै गएका अधिकांश तेस्रो लिङ्गीको नागरिकतामा आफ्नो लिङ्ग उल्लेख छैन। सामाजिक बहिष्करणको डरले वास्तविक लिङ्ग लुकाएर लिएको नागरिकता नै यतिबेला आफूहरूको पहिचानको बाधक बनेको अध्यक्ष साह बताउँछन्। जिल्ला निर्वाचन अधिकारी सुबोधकुमारी अधिकारीले भने तेस्रो लिङ्गीहरूलाई निर्वाचन आयोगले कुनै भेदभाव नगरेको बताउँछिन्। मतदाता परिचयपत्र नागरिकताअनुसार बन्ने भएकाले निर्वाचन आयोगले सोहीअनुसार मतदाता परिचयपत्र जारी गरेको उनको दाबी छ।
आयोगले नागरिकताअनुसारको लिङ्ग मतदाता नामावलीमा उल्लेख गरेको दाबी गरे पनि नागरिकतामा पुरुष उल्लेख भएका र नामावलीमा तेस्रो लिङ्गीको विवरण टिपाएका बुद्धबहादुरलाई भने आयोगले तेस्रो लिङ्गीकै पहिचान दिएको छ। आयोगको भनाइ पत्याउने हो भने महोत्तरीका बुद्धबहादुरलाई कसरी तेस्रो लिङ्गीको पहिचना दिइयो त ? यो प्रश्नको जवाफ भने जिल्ला निर्वाचन कार्यालयसँगै छैन । जिल्लामा सङ्गठित भएका तेस्रो लिङ्गीहरुले नागरिकता सच्याउन जिल्ला प्रशासनमा पटक–पटक अनुरोध पनि गरे । तर प्रशासनले सधैँ मेडिकल प्रमाणलगायतका झन्झटिला कागजात मागेर आलटाल मात्रै गरिरहेको अध्यक्ष साह बताउँछन् ।