
महोत्तरी- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरत सिंह भण्डारीले लोसपानै मधेशी जनताको पार्टी रहेको दाबी गरेका छन् । धनुषाको हंसपुर नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता भण्डारीले लोसपालेनै मधेशको समस्या पहिचान गरी निकास दिने दाबी गर्दै पार्टीमा आउनेहरुको लहर चलेको बताए ।
लोसपा माधेशको मागलाई जरोदेखि समातेका कारण पार्टीलाई बाहिरवाट हेरिए अलि असहज भए पनि जसलाई थाहा छ त्यो हामीबाट भयभीत रहेको बताए । उनले भने–‘हामी सबैका सरकारलाई समर्थन गरेका छौं, विगतमा केपी ओली नेतृत्वका सरकारलाई पनि समर्थन गरेकै थियौं, पछि सरकारमा पनि गयौं, जनताको माग कसरी सम्वोधन हुन सक्छ हामी त्यतातिर बढ्छौं र कसैले रोक्न सक्दैन् ।’ नेता भण्डारीले हामीलाई अवसरवादी भनियो, मधेशका शत्रु भनियो तर, हामी आफ्नो मागमा अडिग भइ बाध्य भएर सरकारमा गएको कुरा बताए ।
सरकारमा गएपछि मात्रै मधेशको मुद्दा सम्बोधन गर्ने अडानका कारण सरकारमा सहभागी हुनुपर्ने हाम्रो बाध्यता थियो । अहिले शेरवहादुर देउवा नेतृत्वको सरकारसंग पनि हाम्रो माग केपी ओली संग रहेको माग एउटै हो, हामी यी माग जो पूरा गरोस हामीलाई त्यसको कुनै परवाह नरहेको बताउँदै उनले भने–‘जनता खुशी, समृद्ध र समानअधिकार दिलाउनुनै हाम्रो उद्देश्य हो, जसलाई जे भन्नु छ भनोस, जे आरोप लगाउनु छ लगाओस् ।
सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा हंसपुर नगरपालिकाका– ३ का वडाध्यक्ष उदय सिंह जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी लोसपामा प्रवेश गरे । उनी संगै सयौं नेता कार्यकर्ताहरु लोसपामा प्रवेश गरेका थिए । गत निर्वाचनमा उनी वडा ३ मा ७ सय ९३ मत ल्याई विजयी भएका थिए । उनी आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मनोजकुमार कापडिलाई पराजित गरी विजयी बनेका थिए ।