काठमाण्डौं । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारको समय तोकेको छ । मंगलबार आयोगले जारी गरेको ६० बुँदे निर्देशनमा चुनाव प्रचारप्रसार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्न पाइने उल्लेख गरिएको छ । ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा विहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्ने’, आयोगको निर्देशनमा भनिएको छ ।
आयोगले जुलुस, आमसभा वा प्रचार प्रसार गर्दा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा बोक्न नपाइने उल्लेख गरेको छ । यस्तै दलको झण्डा वा चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न पनि रोक लगाएको छ । यस्तै कुनै राजनीतिक दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाताहरू ओसारपसार गर्न वा सम्बन्धित स्थान तोकी प्रयोग गर्ने गरी अनुमति लिएको सवारी साधन अन्य स्थानमा प्रयोग गर्न नपाइने पनि आयोगले भनेको छ।



निर्वाचन आयोगले अनुमति बिना चुनावी कार्यक्रम गर्न रोक लगाएको छ। आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा मंगलबार एक निर्देशन जारी गर्दै जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो।
‘स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्न नहुने’, आयोगको निर्देशनमा भनिएको छ, ‘जुलुस, आमसभा, कोणसभा, बैठक एवम् भेला गर्नु अघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा कम्तीमा ७२ घण्टा अगावै जानकारी गराउनु पर्ने ।’ कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम कसैले पनि बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पु¥याउन नहुने पनि आयोगको निर्देशनमा उल्लेख छ ।
राजनीतिक दलहरूबाट आफ्ना सभा, सम्मेलन, अधिवेशन, बैठक, भेला, आमसभा वा यस्तै प्रकृतिका कार्यक्रम संचालन गर्दा राखिएका दलका झण्डा, चिन्ह वा अन्य प्रचार प्रसार सामग्री निर्वाचन आचारसंहिता विपरीत हुने कुनै कार्यहरू भै रहेको वा हुने भए निर्वाचन आचारसंहिता लागू भएको १२ घण्टाभित्र अनिवार्य हटाउने र स्थगन गर्नुपर्ने आयोगको निर्देशनमा भनिएको छ ।




