
जनकपुरधाम- प्रादेशिक अस्पताललाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिएको विरोधमा स्वास्थ्यकर्मी, कर्मचारी, जनकपुर नर्सिंग कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् ।
प्रतिष्ठानबाट अस्पताललाई अलगै राख्न माग गर्दै स्वास्थ्यकर्मी, कर्मचारी, जनकपुर नर्सिंग कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय अस्पताल परिसरमा नै राखिएको छ । मुजेलियामा प्रतिष्ठानले करोडौको लागतमा विशिष्टिकृत अस्पताल बनाएको दावी गरेको छ । त्यसमा विशिष्ट किसिमको उपचार हुने दावी गरिएको छ ।तर हाल सम्म कोभिड-१९का केही सामान्य बिरामीलाई गत वर्ष भर्ना गरिएको बाहेक केहि काम भएको छैन् ।
मधेश प्रदेशमा स्वास्थ्य सम्बन्धी उपकरण, औषधि लगायतका सामग्रीहरु आपूर्ति गर्न एकलौटी कब्जा जमाएको विशाल ग्रुपले म्याद गुज्रेका औषधि, म्याद गुज्रिन सीमित समय बाँकी रहेका औषधि, टुटफुट भएका र पुराना उपकरणहरु समेत आपूर्ति गर्दै आएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य आपूर्ति र प्रादेशिक प्रयोगशालामा सो ग्रुपले आपूर्ति गरेको समानमा करोडौको अनियमितता भएको आरोप लागेको छ ।
प्रतिष्ठानका उपकुलपति डा.रामकेवल साह लगायतका समूहले कमसल समान भित्र्याएर मोटो रकम कमिसन लिने गरेको आरोप आन्दोलनकारीहरुले लगाएका छन् ।उनीहरुले दावी गरे अनुसार प्रतिष्ठानको काम नदेखिएपछि अस्पतालमा समेत कब्जा जमाएका छन् ।
प्रतिष्ठानमा तत्काल आवश्यक नरहेका अनेकौ टुटफुट भएका, पुरानालाई रंगरोगन गरिएको उपकरणहरु राखेर नयाँको भुक्तानी गरिएकोले अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहारिएको छ ।
प्रतिष्ठानको नाममा करोडौ भ्रष्टाचार गर्ने समूहले नै हाल अस्पतालको व्यवस्थापन कब्जा गरे लगतै भ्रष्टाचार सुरु भइसकेको छ । एउटा समूहको नाममा अस्पतालबाट भुक्तानी भएको झण्डै ६ करोड रकम सामाजिक विकास मन्त्रालयका प्रमुख व्यक्तिले कुमल्याएको आरोप लागेको छ । प्रतिष्ठानमा रहँदा अस्पताल र जनकपुर नर्सिँग क्याम्पसको अस्तित्व नै समाप्त हुने चिन्ता व्यक्त गर्दै कार्यरत कर्मचारी र अध्ययनरत विद्यार्थीहरुले आन्दोलन गरेका छन् । उनीहरुले तत्काल नै प्रतिष्ठानको मातहतबाट अस्पताललाई मुक्त गर्न नागरिक समाजलाई समेत गुहारेका छन् ।
बागमती प्रदेशको मकवानपुरमा रहेको प्रादेशिक अस्पताललाई मदनभण्डारी प्रतिष्ठानबाट हटाउने निणर्य प्रदेश सरकारले गरिसकेको अवस्था रहेको छ।
त्यहाँ पनि प्रतिष्ठानमा प्रादेशिक अस्पताललाई गाभिएको थियो । विहिवार देखि प्रादेशिक अस्पताल जनकपुरधाम तथा जनकपुर नर्सिङ क्याम्पस, बचाउ अभियान संयुक्त संघर्ष समितिको ब्यानरमा भएको बिरोध प्रदर्शनमा व्यापक सहभागिता रहेको छ।
अस्पताललाई प्रतिष्ठानबाट मुक्त नगरिए सम्म आन्दोलन अझ सशक्त बनाउँदै लग्ने उनीहरुले जनाएका छन् । अस्पतालको प्रमुख प्रतिष्ठानका निर्देशक(डाइरेक्टर)हुने प्रावधान छ ।तर प्रतिष्ठानका भीसी डा.रामकेवल साहले नै प्रमुखको कुर्सीमा बसेका छन् ।
आर्थिक ऐन विपरीत राजनीतिक नियुक्ति पाएका पदाधिकारीको नाममा अस्पतालको खाता सञ्चालन गरिएको छ ।