जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनकपुरधाममा आयोजना गरेको मानव अधिकारसम्बन्धी कार्ययोजना कार्यान्वय विषयक छलफल कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन निर्दलीय हुनु पर्ने माग गरे।
संघीयतामा दुई तहको सरकार मात्र हुनुपर्ने उनको भनाइ थियो। ‘‘संघीयतामा केन्द्रीय र प्रादेशिक सरकार मात्र हुनु पर्ने हो, स्थानीय तहमा बिना कुनै पार्टीको झण्डा बोकेका स्वतन्त्र निर्दलीय उम्मेदवारी दिने व्यवस्था हुनुपर्छ,’’ उनले भने। उनले छिमेकी राष्ट्र भारतको उदाहरण दिँदै त्यहाँ पनि स्थानीय चुनावमा पार्टीको उम्मेदवार नहुने व्यवस्था रहेको बताए।
मुख्यमन्त्री राउतले अहिले व्यवस्था गरिएको जिल्ला समन्वय समितिको समेत कुनै काम नरहेको जिकिर गर्दै उनले भने, ‘यदि जिससको कुनै जिम्मेवारी र अधिकार नै नदिने हो भने त्यो संस्थालाई खारेज गरिनु पर्दछ। यदि संस्था राख्ने हो भने त्यसलाई संचालनको लागि अधिकार र बजेटको व्यवस्था हुनुपर्दछ।’


