जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रभावशाली युवा नेता कृष्णा सिंह आइतवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पार्टी प्रवेश गराएका हुन् । यस्तै गृहमन्त्री बालकृष्ण खाणले पनि उनलाई पार्टीमा स्वागत गरेका थिए ।
महोत्तरीबाट प्रतिनिधित्व गर्ने सिंह लोसपाका केन्द्रीय सदस्य थिए । महन्थ ठाकुरले नेतृत्व गरेको तराई मधेश लोकतान्त्रिक पार्टीका संस्थापक नेता रहेका उनी तराई मधेश युवा फ्रन्टका केन्द्रीय अध्यक्षसमेत भइसकेका थिए ।
साथै उनले पार्टीको सहप्रवक्ताको भूमिका निर्वाह पनि गरेका थिए । त्यसपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा उनी प्रवक्तासमेत भएका थिए ।
महन्थ ठाकुर निकट उनी राजनीतिक विचारको लाइन नमिलेपछि कांग्रेसमा प्रवेश गरेको सिंहले बताए । बालुवाटारमा लोसपा परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गर्दा उनलाई कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवसमेतले स्वागत गरेका थिए ।