धनुषा- स्थानीय तहको हुन लागेको निर्वाचनको लागि दलहरुले धमाधम उम्मेदवार तय गर्न थालेका छन् । आज नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमाले जनकपुरधाम उपमहानगरपालिकाको मेयरको लागि उम्मेदवारको नाम सिफारिस गरेका छन् ।
आज बसेको लोसपा को जनकपुरधाम उपमहानगर कमिटीको बैठकले मेयर र उपमेयरको नाम सिफारिस गरेको छ। बैठकबाट मेयरका लागि संजय कुमार चौधरी, मनोज चौधरी, परमेश्वर साह, अमर पजियार र जानकीराम साहको नाम प्रस्ताव गरिएको छ।
मेयरका लागि सिफारिस सूचीमा परेका परमेश्वर साह प्रदेश सांसद र अमर पजियार एक मन्दिरका महन्त हुनुहुन्छ । लोसपाका केन्द्रीय सदस्य समेत रहेका मनोज चौधरी बस व्यासायी र जानकीराम साह वडा नम्बर ७ का वडाध्यक्ष हुनुहुन्छ।
लोसपाको तर्फबाट उपमेयर पदका लागि विभा ठाकुर, रिता मिश्र, पुनम झा ‘मैथिली’, विभा पाण्डे र पुनम साहको नाम प्रस्ताव गरिएको छ । रिता मिश्र जनकपुरधामकी उपमेयर हुनुहुन्छ।
महन्थ ठाकुरकै नेतृत्वमा रहेको तत्कालिन राजपाबाट जनकपुरधामको मेयर, उपमेयर र २५ मध्ये १२ वडाध्यक्ष विजयी भएको थियो । निर्वाचित मेयर लालकिशोर साह अहिले जनता समाजवादी पार्टी (जसपा)मा हुनुहुन्छ । उहाँ जसपाबाट पुनः मेयरका अब्बल दाबेदार हुनुहुन्छ।
यता जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले शिवशंकर साह (हिरा) लाई सिफारिस गरेको छ। एमालेले हीराको एकल नाम सिफारिस गरेको हो।
नेकपा एमालेको मधेश प्रदेश कमिटी सदस्य समेत रहेका साहलाई आइतबार सर्वसम्मत रुपमा सिफारिस गरिएको एमालेले जनाएको छ। साह उद्योग वाणिज्य महासंघको मधेश प्रदेशका पूर्वअध्यक्ष हुनुहुन्छ।
यस अघि रमण कन्स्ट्रक्सनका संचालक बलराम महतोले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरिसक्नु भएको छ।
‘पार्टीको नेता हैन, स्थानीय विकासमा समर्पित जनसेवकलाई चुनौँ’ भने मुल नाराका साथ महतोले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।
जनकपुरमा यसवर्ष लोसपा, नेपाली कांग्रेस, जसपा र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने स्थानीय बताउछन् । त्यस्तै धनुषाको मिथिला नगरपालिकाबाट नेकपा एमालेले वर्तमान मेयर हरिनारायण महतोलाई पुनः मेयर पदको उम्मेदवारमा सिफारिस गरेको छ।
आइतबार बसेको मिथिला नगरपालिका एमालेको नगर कमिटी बैठकले सर्व सहमति रुपमा पुनः महतोलाई उम्मेदवार बनाउने निणर्य गरेको हो।
बैठकमा मेयर महतो, रामकुमार महतो, राजाराम महतो र लिलादेवी शर्माले लगायत चारजनाले मेयर पदको उम्मेदवारका लागि दावी पेश गर्नुभएको थियो तर पछि बैठकमा तीनैजनाले समर्थन गरी आफूलाई मेयर पदको उम्मेदवार बन्न सर्वसहमत निणर्य भएको मेयर महतोले बताउनुभयो ।
गत २०७४ को निर्वाचनमा एमालेबाट मेयरमा महतो र उपमेयरमा तारा लामा बस्नेत निर्वाचित हुनुभएको थियो ।




