जनकपुरधाम- स्थानीय तहको निर्वाचनको लागि सत्तारुढ दलहरुको मधेस प्रदेश स्तरीय बैठकले चुनावी तालमेल गर्न जिल्ला नेतृत्वसँग छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको छ ।
आज मंगलबार महोत्तरीको बर्दिबासमा बसेको प्रदेश गठबन्धनको बैठकले वैशाख २ गतेसम्म जिल्ला स्तरीय गठबन्धनबाट पालिका तहअनुसारको छलफल गरी खाका तयार पार्ने निणर्य गरेको छ ।
मधेस प्रदेशभित्रका आठवटै जिल्लामा गठबन्धन दलको छलफल पश्चात गठबन्धनको प्रदेश नेतृत्वसँग जिल्लागत रुपमा बैठक बसी चुनावी तालमेलको खाका तयार पार्ने जसमा गठबन्धन घटकबाट जिल्ला सभापति तथा इन्चार्ज सहित दुई जना मात्र सहभागी हुने जनाइएको छ ।
जिल्लागत बैठक पश्चात वैशाख ३ गते काँग्रेस मधेस प्रदेश कार्यालय जकपुरधाममा हुने बैठकमा धनुषा र महोत्तरी जिल्लाको सन्दर्भमा बिहान ८ देखि १२ बजेसम्म तथा सिरहा र सप्तरी जिल्लाको सन्दर्भमा दिउँसो २ बजेदेखि छलफल हुने जनाइएको छ ।
यस्तै वैशाख ४ गते जसपा मधेस प्रदेश कार्यालयमा बस्ने बैठकमा बिहान ९ देखि १२ बजेसम्म सर्लाही र रौतहट जिल्लाका बारेमा र दिउँसो २ बजेदेखि बस्ने बैठकमा बारा र पर्सा जिल्लाका बारेमा छलफल हुने जनाइएको छ ।
मंगलबार बसेको मधेस प्रदेशस्तरीय गठबन्धन बैठकले केन्द्रीय गठबन्धनका शीर्ष नेताहरुद्वारा जारी संयुक्त विज्ञप्तिलाई स्वागत गर्ने निणर्य समेत गरेको छ ।
बैठकमा नेपाली काँग्रेसका प्रदेश समिति अध्यक्ष तथा सत्ता गठबन्धनका संयोजक कृष्णप्रसाद यादव, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी, नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष रामचन्द्र यादव, जसपाका प्रदेश अध्यक्ष रामबाबु यादव, राष्ट्रिय जनमोर्चाका हिमलाल पुरी र नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश इन्चार्ज दिनेशकुमार यादव, नेपाली काँग्रेसका मधेस प्रदेश उपसभापति चन्द्रशेखर यादव, काँग्रेसका मधेस प्रदेश कार्यसमितिका कोषाध्यक्ष प्रदीपकुमार यादव र नेपाली काँग्रेस कै प्रदेश मुख्य सचिव सन्तु यादव सहभागी थिए ।