जनकपुरधाम – धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा कक्षा ८ मा अध्ययनरत मुकेश झा आज शुक्रवार बिहान सुति रहेकै बेला हजुरआमाले शिरमा पानी छोपिदिँदा उनको निद्रा खुल्यो ।
त्यसलगतै उनलाई आफूभन्दा मर्यादाक्रममा ठूलो रहेको घर र छिमेककाले शिरमा पानी हालेर आशिष दिए । उनी पनि रमाइलो मान्दै ठुलाबडाको आशीर्वाद लिए । परम्पराको बारेमा सामान्य बुझ्न थालेका १४ वर्षीय बालक मुकेशलाई अनौठो भने लागिरहेको थियो । तर, परम्परा भन्दै उनले रमाइलो माने । लगत्तै उनी बुबा मनोज झाको साथमा बगैंचातर्फ लम्के । बुबाको हातमा पानीले भरिएको बाल्टी थियो । उनले पनि ग्यालेन बोके । बगैंचामा पुगेर बुबासँगै हरेक बोटबिरुवामा पानी हाले ।




समृद्ध संस्कृतिको रूपमा चिनिने मिथिला संस्कृतिका चाड पर्वको पनि आफ्नै महत्वहरु छ । मिथिलामा मनाईने पर्वहरुको पनि वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महत्वपूर्ण रहेको पाइन्छ। यस्तै पर्वहरु मध्ये आज जनकपुर सहित सम्पूणर् मिथिलाञ्चलमा मनाईरहेको पर्व जुडशितल रहेको छ।
मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशितल पर्व मनाइँदै छ। वैशाख संक्रान्तिको भोलिपल्ट मनाइने यस पर्वमा मिथिलावासी एक अर्कालाई हिलोपानी लगाउने गर्छन्। यसअघि मान्यजनबाट बिहान हुने बित्तिकै टाउकोमा पानी थापेर आशिर्वाद लिने परम्परा रहेको छ।

वैशाख १ गते अर्थात नयाँ वर्षको प्रारम्भसँगै दुई दिन मनाइने यो पर्वमा आज श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशिर्वाद दिएर मनाइने चलन भए अनुसार आज बिहानै बुवाआमा, गुरु, मान्यजन एवं आफूभन्दा जेठा व्यक्तिले आफूभन्दा सानालाई टाउकोमा पानी छर्किदै आशिर्वाद दिएर जुडशितल पर्व मनाईँदैछ।
नयाँ वर्षमा मनाइने ‘जुडशितल’ पर्वको पहिलो दिन हिजो ‘सतुवाइन’ सम्पन्न गरिएको थियो । पहिलो दिन अर्थात् ‘सतुवाइन’ मनाइँदा अत्यन्त गुणकारी मानिने जौँ र चनाको सातु तथा सर्वत खाने, ख्वाउने मैथिल परम्परा छ । यस दिन सातु र सर्वत दान गर्ने पनि मैथिल चलन छ ।
पर्वको दोस्रो दिन अर्थात् वैशाख २ गते दोस्रो दिन घरपरिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिने गर्दछन् ।

नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरुको कथन रहेको छ। वर्षभरि खेतीपाती राम्रो हुन सकोस् भन्ने कामनासाथ सन्तुलित वर्षा होस् र हिलोमा धसिएर मुख्य फसल धान रोपाइँ गर्न पाइयोस् भन्ने सन्देश को लागि आज हिलो खेल्ने चलन पनि छ ।
होली पर्वमा रंग अविर दलेर खेले जस्तै यस पर्वमा एक अर्कालाई हिलो पानी दल्ने परम्परा रहेको छ।
क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर मैथिल ब्राह्मण लालबाबु झाले गर्मी मौसमको यस पर्वमा चना (बदाम) को सातु, दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने परम्परा रहेको बताउँछन् ।

प्राथमिक स्वास्थ्य केन्द्र महेन्द्रनगरका सिनियर अहेव अशोक साहले यस पर्व खाइने शाकाहारी र सुपाच्य भोजन तथा दही र मोहीको प्रचुर प्रयोगले गर्मीमा सजिलै खानेकुरा पचाउन मद्दत हुने बताए ।
त्यस्तै जुडशितल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । जुडशितलका अवसरमा घरमुली आफ्नो बगैँचामा डुल्न निस्कन्छन् । यसरी यस पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने मैथिल जनविश्वास रहेको छ।
जुडशितल पर्वमा पुरानो वर्षको वासी खाना खाने परम्परा समेत रहेको छ। पुरानो वर्षमा बनाइएको अन्तिम खाना नयाँ वर्षमा खाने गरिन्छ।
पहिले पहिले यो पर्वमा बिहान उठेर सम्पूणर् गाउँवासी एक ठाउँमा भेला भइ एक अर्कामाथि हिलो, माटो, पानी र खरानी दलेर खेल्ने गर्थे । तर अहिले आधुनिकताले छोएसँगै यो परम्परा लोप हुँदै गइरहेको संस्कृतिविदहरू बताउँछन्।

लोपोन्मुख हुँदै गइरहेको मिथिलाञ्चलको यो लोकपर्वलाई संरक्षण गर्ने उद्धेश्यले विभिन्न संघसंस्थाको पहलमा यो पर्व जनकपुरधाममा मनाइने गरीन्छ।
जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा विभिन्न संघ संस्थाका आयोजनामा विगत केहि वर्ष देखि जुडशितलको आयोजना गरिने गरीन्छ।
गृष्म ऋतुको सुरूआतसँगै शितलताको प्रतीकको रूपमा हिलो र पानीले खेल्ने यो पर्वले मिथिलाको संस्कृतिलाई झल्काउने गरेको प्रदेशसभा सदस्य रामाशीष यादव बताउँछन्।
यस पर्वमा एकाबिहानै बोटबिरुवामा पानी हाल्ने परम्परा समेत रहेको छ। यस हिसाबले यो पर्वले प्रकृति संरक्षणको समेत सन्देश दिने समाजसेवी अमरचन्द्र अनिलको भनाइ छ। जुडशितलमा हिलो र पानी जिउमा हाल्नाले स्वास्थ्य लाभ हुने, छालासम्बन्धी रोग नलाग्ने, यो पर्वमा पानी हालेर खेल्यो भने गर्मी महिनाभरी शितलता प्रदान हुने जनविश्वास रहेको छ।
जुडशितलको अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।




