काठमाडौं- नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा सत्तारुढ दलहरूबीच नै प्रतिस्पर्धा हुनसक्ने बताएको छ।
केन्द्रीय कार्यसम्पादन समिति बैठक चलिरहेको बेला सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्।
महानगर र उपमहानगरबाहेकका स्थानीय तहलाई तालमेलका लागि बाध्य नपार्ने बताउँदै उनले तालमेल नभएका तहमा एमालेसँग गठबन्धन नगरी चुनाव लड्ने बताए। गठबन्धन दलले कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शिर्ष तहमा सहमति गरिएको उनले बताए।
कुनै ठाउँमा गठबन्धन दलहरूबीच सहमति नभए एमालेसँग गठबन्धन नगरी प्रतिस्पर्धा हुने उनको भनाइ थियो।
प्रवक्ता महतले महानगरपालिका र उपमहानगरपालिका मेयर, उपमेयर बाहेकका सबै स्थानीय तहको उम्मेदवार सम्बन्धित कमिटीहरुकै गठबन्धनले तय गर्ने बताए।