श्यामसुन्दर पुडासैनी, काठमाडौं। राजनीतिक दलहरू चुनावी अभियानमा केन्द्रित भएसँगै नेता-कार्यकर्ताले दलबदल गर्ने क्रम बढेको छ। विषेशगरी मधेश प्रदेशमा दिनदिनै पार्टी प्रवेशको कार्यक्रम भएको भएकै छ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) का नेता-कार्यकर्ता एकअर्का दलमा प्रवेश गर्ने क्रम बढेको छ। चुनावको मिति घोषणा भएयता यस्ता गतिविधि बढेको छ।
टिकटको आशमा दल अदल-बदललाई अवसरवादी प्रवृत्तिका रूपमा टिप्पणी भइरहे पनि सबै प्रमुख दलहरू आफ्नो पार्टीमा धेरै र प्रभावशाली व्यक्तिहरू प्रवेश गरेको सन्देश दिन तल्लीन छन्। दलहरूले पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिइनै रहेका छन्।
स्थानीय चुनावको मिति नजिकिँदै जाँदा तराई मधेशमा अरू दलको तुलनामा नेकपा एमाले प्रवेश गर्नेको संख्या धेरै छ। (एमाले) अध्यक्ष केपी शर्मा ओली स्वागत गर्नमै व्यस्त छन्। यो उनको मधेशमा एमाले कमजोर छ भन्ने आरोपलाई खण्डन गर्ने काेशिश हो भन्ने प्रस्टै बुझिन्छ।
०६३ सालअघि एमाले मधेशमा कांग्रेस हाराहारीकै शक्ति थियो। बारा, पर्सा, रौतहटमा एमाले कांग्रेसभन्दा निकै बलियो थियो।
सर्लाहीदेखि सप्तरीसम्मका जिल्लामा पनि कांग्रेस हाराहारीकै शक्ति थियो एमाले । ०६३ सालपछि एमालेको ठूलो हिस्सा मधेशको क्षेत्रीय राजनीतिमा प्रवेश गरेसँगै एमालेको शक्ति क्षीण भएको हो । धेरै एमाले नेताहरू तत्कालीन मधेशी जनअधिकार फोरम र तमलोपामा प्रवेश गरेका थिए ।
०७४ सालको चुनावमा पनि एमालेले शक्ति फर्काउने कोशिश गरे पनि मधेश प्रवेशमै निषेध गर्ने प्रयास गरिएको थियो । गत तीन वर्ष सरकारमा छँदा एमाले अध्यक्ष ओलीले मधेशको हुलाकी सडकलगायत सडक, सिंचाई, पूर्व–पश्चिम रेलमार्ग निर्माण, सदरमुकाम जोड्ने सडक विस्तार गरी छ लेन बनाउनेसम्मका कामलाई प्राथमिकतासाथ बजेट विनियोजन गरेको थियो । अहिले एमाले पूरै शक्तिका साथ मधेशमा लागि परेको छ ।
पार्टी विभाजनमा पुराना कार्यकर्ता गुमाएको एमालेले त्यो रिक्तता पूर्तिका लागि प्रवेश अभियान नै चलाएको देखिन्छ ।