महोत्तरी – गगनकुमार थापा ले पार्टीभित्र देखिएका मतभेद समाधान गर्दै संगठनलाई एकताबद्ध रूपमा अघि बढाउन आवश्यक सबै विषयमा छलफल गर्न आफू तयार रहेको बताउनुभएको छ ।

महोत्तरीको बर्दिबासमा बुधबार आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले सहमतिका आधारमा पार्टी सञ्चालन गरिने बताउनुभयो ।




सभापति थापाले पार्टीभित्रका नेता तथा कार्यकर्ताको भावनालाई समेट्दै संगठनलाई एकढिक्का बनाएर अघि बढाइने उल्लेख गर्नुभयो । उहाँले संस्थापनइतर समूहका नेताहरूलाई क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा अवरोध नगर्न आग्रह गर्नुभयो ।

पार्टी सुदृढीकरणका लागि सदस्यता व्यवस्थापन महत्वपूर्ण विषय भएकाले यसलाई विवादको विषय नबनाउन उहाँको भनाइ थियो । क्रियाशील सदस्यता अद्यावधिकको विषयलाई लिएर भइरहेको विरोधप्रति आश्चर्य व्यक्त गर्नुहुँदै उहाँले आवश्यकता अनुसार पार्टी सदस्यले सदस्यता नवीकरण गर्न पाउनुपर्ने धारणा राख्नुभयो ।

पार्टीभित्रको अनुशासन र संगठनात्मक प्रतिबद्धताबारे चर्चा गर्नुहुँदै सभापति थापाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने वा समर्थन नगर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँका अनुसार आम मतदाताले आफ्नो स्वविवेक प्रयोग गर्न पाउने भए पनि पार्टीका क्रियाशील सदस्य तथा नेताहरूले संगठनात्मक निर्णयको पालना गर्नुपर्ने हुन्छ ।

गत निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गर्ने नेताहरूलाई केही समयका लागि सदस्यताबाट अलग राख्ने नीति दोहोर्याउँदै उहाँले त्यसलाई संगठनात्मक अनुशासनसँग जोडिएको विषयका रूपमा व्याख्या गर्नुभयो ।
















