बर्दिवास। आज २५६९ औँ बुद्ध जयन्ती, धुमधामका साथ मनाइँदै छ ।
दिवसका अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ भने काठमाडौँको बौद्ध स्तूपा, स्वयम्भू लगायतका देशभरका अन्य विहार र गुम्बामा श्रद्धालुहरूको घुइँचो लागेको छ ।
बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीलाई विशेष रुपले श्रृङ्गारिएको छ ।
विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी गरिएको छ ।
मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ ।
आज लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्यालीको आयोजना गरिएको छ । मूल कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने प्रचारप्रसार समितिका ढुण्डीराज भट्टराईले जानकारी दिए ।
यसैबीच, काठमाडौँको स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौर्ध धर्मगुरु, भीक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम छ ।
स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भीक्षु धर्ममूर्तिले जानकारी दिए ।
बुद्धको अस्तुधातु बुद्धजयन्तीका दिन मात्रै सर्वसाधारणको दर्शनका लागि राखिँदै आइएको छ । दिउँसो सार्वजनिक बौद्धसभा आयोजना गरिएको छ । स्वयम्भूनाथ क्षेत्रमा विभिन्न पूजाआजा, रक्तदान तथा प्रसाद वितरणका कार्यक्रम हुने जनाइएको छ ।
बुद्ध जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।




