
जनकपुरधाम । जेष्ठ नागरिकले पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता एक वर्षदेखि नदिएको भन्दै महोत्तरीको भङ्गहा नगरपालिकाका ज्येष्ठ नागरिकहरू धर्नामा बसेका छन् ।
नियम अनुसार तीन (तीन महिनामा पाउनुपर्ने समाजिक सुरक्षा भत्ता विगत एक वर्षदेखि मेयर संजीव साहले अल्झाएर राखेको भन्दै ज्येष्ठ नागरिकहरूले सीतापुर बजारमा नाराबाजी गर्दै धर्नामा बसेका हुन् ।
सामाजिक सुरक्षा भत्ता समयमा नपाउनुको प्रमुख कारण नगरप्रमुख संजीव कुमार साह रहेको भङ्गहा नगरपालिका वडा नम्बर ९ भिमगढका सूर्यमान विश्वकर्माले आरोप लगाए ।
उनले भने–“नगरप्रमुख साहले आफूहरूको सामाजिक सुरक्षा भत्ता वितरणमा नगर प्रमुख साहले कुनै चासो नदेखाएको कारण तीन–तीन महिनामा पाउनुपर्ने भत्ता एक वर्षदेखि पाएको छैन ।” यसमा नगरप्रमुख र बैंकका म्यानेजर दोषी रहेको विश्वकर्माले आरोप लगाए ।
धर्नामा बसेका जेष्ठ नागरिकहरुले भत्ता नपाएसम्म घर नफर्किने अडानमा छ ।
यसअघि बुधबार नगरप्रमुख संजीव कुमार साहले नगरपालिकाबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि खातामा जम्मा गरेको पैसा बैंकले चार महिनासम्म पनि वितरण नगरेको भन्दै कुमारी बैंकमा ताला लगाएका थिए ।
उनले बैंकलाई पटकपटक भत्ता बाँड्न आग्रह गरेपनि कुनै सुनुवाई नगर्दा आफूले ताला लगाएको बताए ।