जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि मेयर पदमा १७ र उपमेयरमा१० जनाको उम्मेदवारी परेको छ।
राजनीतिक दलको तर्फबाट मेयरमा ७ जनाको उम्मेदवारी परेको छ भने १० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।



त्यसैगरी, उपमेयरमा राजनीतिक दलको तर्फबाट ६ जनाले उम्मेदवारी दिएका छन् भने ४ जना स्वतन्त्र उम्मेदवार छन् ।
सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका लागि लालकिशोर साह र उपमेयरमा किशोरी साहले मनोनयन दर्ता गराएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयरमा मनोज चौधरी र उपमेयरमा रिता कुमारी मिश्रले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेको तर्फबाट मेयरमा शिवशंकर साह (हीरा) र उपमेयरमा कांग्रेस परित्याग गरि आज मात्रै एमालेमा प्रवेश गरेकी रुना झाले मनोनयन दर्ता गरेका हुन् ।
त्यस्तै ६ दिन अगाडि नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले पनि एमाले परित्याग गरि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको समूहबाट उपमेयरमा युवा नेता सरोज कुमार मिश्रले मनोनयन दर्ता गराएका छन् ।
नेपाल जनता पार्टीबाट मेयरमा मुरली मनोहर मिश्र र उपमेयरमा बन्दना पाण्डेले उम्मेदवारी दिएका छन् भने जनमत पार्टीबाट मेयरमा अनिता देवी साह र उपमेयरमा संतोष कुमार साहले मनोनयन दर्ता गराएका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीबाट विभा ठाकुरले मेयर र इश्वर पण्डितले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
जनकपुरधामको मेयर पद मै नेकपा मालेबाट गीता कुमारी मण्डलले उम्मेदवारी दिएकी छिन् ।
यता मेयर पद मै स्वतन्त्र तर्फ कांग्रेसबाट राजीनामा दिएका मनोज साह, बलराम महतो, वैद्यनाथ साह, श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिर कुमार महतोले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै नेकपा एमालेले मेयर पदको टिकट नदिँदा बागी बनेर उमेश चौधरी र कुमारी बनिता यादवले आइतबार नै उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् भने कांग्रेसले टिकट नदिँदा निर्मल कुमार चौधरीले पनि उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगले आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो ।
धनुषा जिल्लामा राष्ट्रिय मान्यताप्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दलहरू दर्ता भएका छन् ।




