
जनकपुरधाम- धनुषाको निर्वाचन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ भने क्षेत्र नं १, २ र ४ मा सर्वदलिय बैठक बसी १० बजे देखि मतगणना सुरु गर्ने तयारि गरिएको छ।
मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मतपेटिका संकलनको कार्य नै अबेर राती सम्म गरिएको हुँदा मतगणना सुरु गर्न ढिला भएको जानकारी दिए ।
उनले चारवटै निर्वाचन क्षेत्रका मतपेटिकाहरू सम्बन्धित मतगणनास्थलहरूमा जम्मा भइ सकेकोले सर्वदलिय बैठकको तयारी भइरहेको बताए । उनले सर्वदलिय बैठक बसी १० बजे देखि मतगणना सुरु गर्ने तयारि गरिएको जनाए ।
जिल्लाका चारवटै निर्वाचन क्षेत्रहरूको मतगणना फरक–फरक चार ठाउँमा हुने भएको छ ।
जिल्लाको क्षेत्र नम्बर–१ को धनुषाधाममा, क्षेत्र नम्बर–२ को तिनकौरियामा, क्षेत्र नम्बर–३ को जनकपुरधाममा र क्षेत्र नम्बर–४ को महेन्द्रनगरमा मतगणना हुने मुख्य निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।
उनले सबै मतगणनास्थलहरूमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको बताए ।
आइतबार सम्पन्न निर्वाचनमा धनुषामा ६२ प्रतिशत मत खसेको छ ।
प्रतिनिधिसभा तर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा २५, क्षेत्र नम्बर–२ मा १६, क्षेत्र नम्बर–३ मा ३१ र क्षेत्र नम्बर–४ मा ३१ जना उम्मेदवार छन् भने प्रदेशसभा १ को (क) मा १४, (ख) मा १४ र २ को (क) मा १४ तथा (ख) मा १७ जना उम्मेदवार छन् । त्यस्तै, ३ को (क) मा २० र (ख) मा २७ तथा ४ को (क) मा १९ र (ख) मा १३ जना उम्मेदवार छन् ।