सप्तरी - ऋण नतिरेको भन्दै एक वित्तिय संस्थाले आफ्नो घरमा आगजनी गर्दै भैसी समेत खोलेर लगेको एक ऋणीले आरोप लगाएका छन् ।
सप्तरीको सुरुङ्गा नगरपालिकास्थित कदमाहा चौकमा रहेको “मेरो माइक्रो फाइनान्स” लघुवित्त बैंकका कर्मचारीहरुले आफ् नो घरमा आगो लगाएको सोही नगरपालिका वडा नं. ३ की सरस्वती सिंहले आरोप लगाएकी हुन् । दश दिनअघि आफ्नो घरमा आएका फाइनान्सका कर्मचारीले आगो लगाइदिएपछि बैशाखको टनटलापुर घाममा आकाशमुनी बस्नु परेको पीडितले बिहीबार राजविराजमा पत्रकार सम्मेलनमार्फत गुनासो पोखेका छन् । तोकिएकै समयमा उक्त संस्थाको ऋण तिर्ण नसक्दा ९२ वर्षीया सासुआमा लगायत परिवारका सदस्यहरुलाई गाली गलोज गरी दुई वटा भैसीसमेत खोलेर लगेको पीडितको गुनासो छ ।
आगजनीबाट करिब २४ लाख बराबरको धनमाल नष्ट भएको सरस्वतीले बताएकी छिन् । उक्त संस्थाबाट आफूलाई परेको नोक्सानीको क्षतिपुर्ती उपलब्ध गराई दिन उनले प्रहरी तथा वडा कार्यालयमा समेत उजुरी दिएको संचारकर्मीहरुलाई बताइन् । यता लघुवित्त फाइनान्सका शाखा प्रवन्धक महादेब चौधरीले आगो लगाएको आरोप अस्विकार गर्दै भैसी भने ल्याएको स्वीकार गरेका छन् । उनले बैंकबाट सिंहले २ लाख ५० हजार ऋण लिए पनि समयमै ब्याज चुक्ता नगर्दा ऋण असुलीका लागि दबाब दिने क्रममा भैंसी लगेको स्पष्ट पारेका छन् ।