
काठमाडौँ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी छन् । ड्युटीमा खटिएकाहरुमध्ये काठमाडौं, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक एक जना म्यादी प्रहरीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए । सिन्धुपाल्चोककै एक जना म्यादी प्रहरीले भने आत्म हत्या गरेको उनले जानकारी दिए ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी ६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको थियो । नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको पनि दुर्घटनामा मृत्यु भएको थियो । यसैगरी हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका ६ का जसबहादुर रोका सुतेकै अवस्थामा मृत भेटिएका थिए । सिन्धुपाल्चोककी अनिता भट्टराईले भने विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।
सरकारले निर्वाचन सुरक्षामा खटिएको बेला ज्यान गुमाएका म्यादी प्रहरीका परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ । आत्महत्या गरेकाको हकमा भने राहत उपलब्ध हुने छैन । यसैबीच निर्वाचन सुरक्षाका लागि खटाइएका म्यादी प्रहरीमध्ये आचरण विपरीत गतिविधि गरेको आरोपमा ४८ जनालाई बर्खास्त गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।