काठमाडौं। स्थानीय निर्वाचनमा मुख्य प्रतिस्पर्धी शीर्ष दलका शीर्ष नेताहरूले आफ्नै वडामा नेतृत्व गुमाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत पार्टीका शीर्ष नेता तथा दोस्रो तहका नेताको वडामा नै पार्टीले हार बेहोरेको छ। आफ्नै वडामा पार्टीलाई जिताउन असफल नेताको सूचीमा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नै परेका छन्।
यस्तै अरू थुप्रै नेताका वडामा पनि उनीहरूकै पार्टीले हार बेहारेको छ। हालसम्मको परिणाम अनुसार दोस्रो रहेको पार्टीलाई पहिलो दल बनाउन सफल प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको घर भएको दुवै वडामा पार्टीले हारेको छ। देउवाले भोट हालेको डडेलधुराको गन्यापधुरा गाउँपालिकाको वडा १ मा नेपाली कांग्रेस (बीपी)का उम्मेदवार नरेशराज भण्डारी निर्वाचित भए। भण्डारीले ६ सय ७३ मत पाउँदा कांग्रेसका चन्द्रबहादुर देउवाले ५ सय ४४ मत मात्र ल्याए। यस्तै काठमाडौंस्थित देउवा निवास रहेको वडामा पनि कांग्रेसले जित्न सकेन। जहाँ कांग्रेस जित्न त परको कुरा प्रतिद्वन्द्वी पनि बनेन, तेस्रो भयो। बुढानीलकण्ठ ३ मा स्वतन्त्र उम्मेदवार आकाश धितालले जित हासिल गरेका छन्। आकाश कांग्रेसका बागी उम्मेदवार हुन्। यसअघि वडासदस्य रहेका उनी अहिले अध्यक्षमा टिकट नपाएपछि बागी उम्मेदवार थिए। स्वतन्त्र उम्मेदवार ५ सय १२ मतले जितेका छन्।
उनका निटकतम् प्रतिद्वन्द्वी एमालेमा राजेन्द्र खड्काले ४ सय ७४ ले मत ल्याए। यस्तै तेस्रो भएका कांग्रेसका उम्मेदवार नवराज भण्डारीले २७४ मत ल्याए। यस्तै एमाले अध्यक्ष ओलीको वडामा पनि एमालेले हार बेहोरेको छ। अध्यक्ष मात्रै होइन, यहाँ त एमालेले वडासदस्यसमेत जित्न सकेन। हालसम्मको परिणामअनुसार एमाले दोस्रो नम्बरमा रहँदा अध्यक्ष ओलीले भोट हालेको भक्तपुरको सूर्यविनायक नगरपालिका २ मा हार बेहोर्यो। यहाँ कांग्रेसका वडाअध्यक्षका उम्मेदवार प्रदीप कार्की १ हजार ५ सय ११ मतसहित निर्वाचित भए। एमालेका विश्वराज विष्ट १ हजार ३ सय ५ मत ल्याएर पराजित भए।
यस वडामा एमाले क्लिन स्विप नै भयो। यस्तै अर्थमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माको मुसिकोट १ मा माओवादीले वडाध्यक्ष गुमायो। अर्का माओवादी नेता तथा सभामुख अग्निप्रसाद सापकोटाको वडा सिन्धुपाल्चोकको बलेफी वडा २ मा कांग्रेसले जित निकाल्यो। यस्तै नेकपा एकीकृत समाजवादीका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको गृह गाउँपालिका डोटीको जोरायलमा समाजवादीले जित्न सकेन। एमाले विजयी भयो। गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दुर्गादत्त ओझा विजयी भए। आलेले भोट हालेको वडा समेत एमालेले जित्यो।
यस्तै उता ताप्लेजुङमा एमालेका सचिवसमेत रहेका योगेश भट्टराईले मतदान गरेको मौवाखोला ३ मा एमालेले जित्न सकेन। त्यहाँ नेपाली कांग्रेसका खगेन्द्र थक्लुङले ७० मतले वडाध्यक्ष पद जिते। पालिका प्रमुखको जारी मतगणनामा त्यहाँ एमाले पछि छ। एमालेविरुद्ध कडा अभिव्यक्ति दिँदै आएकी नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीको वडा गुल्मीको मदाने गाउँपालिका ४ मा पनि उनको पार्टीले हार ब्यहोर्यो। त्यहाँ नेकपा एस नेकपमा एमालेसँग पराजित भयो। त्यति मात्रै होइन, वडासदस्य समेत जित्न सकेन उनको पार्टीले। यसपटकको निर्वाचन लामो समयदेखि निर्वाचन बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपालाई पनि लाग्यो। निर्वाचनमा जाने/नजानेबारे पार्टीभित्र विवादै भयो र टुक्रियो।
तर पनि विप्लव र नेकपाका प्रवक्ता खड्कबहादुर बिक (प्रकाण्ड) पक्षले निर्वाचनमा जाने निर्णय गर्यो। निर्वाचन आयोगमा दल दर्ता नभएका कारण पार्टी चुनावमा सहभागी हुन त पाएन, तर विप्लव समूहले स्वतन्त्र उम्मेदवार अघि सार्यो। नेकपाका प्रवक्ता प्रकाण्डको वडामा विप्लव समूहका स्वतन्त्र उम्मेदवार थिए। पार्टीको राम्रो पकड मानिएको कालिकोटको नरहरिनाथ गाउँपालिका–६ मा पनि उक्त समूहल सफलता हासिल गरेन। उक्त वडामा नेकपा माओवादी केन्द्रका पौरम विकले जिते। - नेपाल भ्यूज