जनकपुरधाम- मंगलवार देखि अनिश्चित समयका लागि स्थगित गरिएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मतगणना कार्य अझ सुचारु हुन सकेको छैन ।
एमालेले मत परिणाममा तलमाथि गरिएको आरोप लगाउँदै पुन: मत गणना गर्नुपर्ने अडान राखेको छ । क्षीरेश्वनाथ नगरपालिकाको निर्वाचन अधिकृत विकास बस्नेतले लगातार गणना सुरु गर्ने प्रयास गरिएको भएपनि अहिलेसम्म गणना सुरु गर्न सहमति नजुटेकाले गणना सुरु हुन नसकेको बताए ।



बुधवार ३ घण्टा चलेको सर्वदलिय बैठक बिना निष्कर्ष सम्पन्न भएको थियो । पटक पटक बसिरहेको सर्वदलीय बैठकबाट सहमति नजुट्दा गणना सुरु हुन नसकेको निर्वाचन अधिकृत विकास बस्नेतले बताए ।
दलका प्रतिनिधिहरुले मतगणनाको विषयमा विवाद सिर्जना गरेकोले सूचना जारी गर्दै मंगलवार दिउँसो देखि मतगणना कार्य स्थगित गरिएको छ ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत वडा नम्बर-५ को क्षिरेश्वर मावि (ङ) मतदान केन्द्रको मतगणना कार्य भईरहेको अवस्थामा दलका प्रतिनिधिहरुले सो विषयमा विवाद सिर्जना गरेकोले सहज ढंगले मतगणना कार्य अगाडि वढाउन सकिने अवस्था नभएको हुँदा अर्को सूचना प्रकाशन नभएसम्मका लागि मतगणना कार्य स्थगित गरिएको छ।
निर्वाचन अधिकृत बस्नेतले यस विवादको सम्बन्ध केन्द्रिय निर्वाचन आयोगलाई लेखि पठाएको र उताबाट आउने निर्देशन बमोजिम अघि बढ्ने जनाए ।
निर्वाचन अधिकृत बस्नेतले दुबै पक्षलाई विभिन्न विकल्पहरु सहित छलफलको वातावरण बनाईरहेको बताए । उनले दुबै पक्षलाई छलफलमा राखी सहमतिमा कानून अनुसार गरिने बताए ।
यस नगरपालिकामा कांग्रेसबाट निवर्तमान मेयर योगेन्द्र पजियार, एमालेबाट सुखदेब यादव र एकीकृत समाजवादीबाट शिवशंकर प्रसाद सिंह उम्मेदवार छन्।
निवर्तमान मेयर पजियार र सुखदेव यादव बीच कडा प्रतिस्पर्धा चलिरहेको छ। पछिल्लो समय यादवले अग्रता लिएका छन्। पजियार कांग्रेसका जिल्ला सभापति समेत हुन्।
यस्तो छ विवादको कारण
क्षीरेश्वरनाथ नगरपालिका ५ को क्षीरेश्वर जनता उच्च मा.वि. (ङ)मतदान केन्द्रको मतगणना पुनः गर्नुपर्ने माग गर्दै एमाले माग गर्दै आन्दोलित भएका छ्न । उनिहरुले अफ्नो उम्मेदवार १ मतले विजयी भएपनी निर्वाचन अधिकृतले पक्षपात गरेर काँग्रेसका उम्मेदवारलाई २ मतले जिताउन खोजेको आरोप लगाएका छन् । उनिहरुको अनुसार एमालेको उम्मेदवार १ मतले विजयी भएको घोषणा गरिनुपर्ने वा उक्त मतदान केन्द्रको मतगणना पुनः गरिनुपर्ने माग राखेका छन् ।
यता कांग्रेसले मतगणना निस्पक्ष भएको र हाम्रो उम्मेदवार विजयी घोषित हुनुपर्ने अडान राखेको छ । यसै दुईपक्षीय अडानको कारण विवाद रहेको र मतगणना सुचारु हुन सकेकाे छैन ।




