जनकपुरधाम- पालिकाको प्रमुख वा अध्यक्ष भन्ने वितिकै पुरुष तथा उपप्रमुख वा उपाध्यक्ष भन्ने वितिकै महिला हुन्छन् भन्ने आम प्रचलनलाई तोड्दै सर्लाहीको बरहथवामा एमालेले महिला कल्पना कुमारी कटुवाललाई प्रमुख र पुरुष रामबाबुर प्रसाद साहलाई उपप्रमुखको उम्मेदवार बनाए ।
मतदाताले पनि कटुवाललाई प्रमुख र साहलाई उपप्रमुखमा निर्वाचित गरेर सर्लाहीमा हालसम्मको ईतिहाँसमा नयाँ रेकर्ड बनाएको छ ।



बरहथवा नगरपालिकाको मेयरमा निर्वाचित हुँदै नेकपा एमालेकी कल्पना कुमारी कटुवाल सर्लाहीमा पहिलो महिला पालिका प्रमुख बनेकी छिन् ।
त्यस्तै सर्लाहीमा उपप्रमुखमा पनि एमालेका रामबाबु प्रसाद साह स्थानीय तहको व्यवस्था भएयता साह पहिलो पुरुष उपप्रमुख हुन् ।
कटुवालले निवर्तमान मेयर समेत रहेका नेकपा माओवादी केन्द्रका प्रत्यासी देवानन्द महतोलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्न सफल भएकी छिन्। उनले १२ हजार २७३ मत ल्याउँदा निकटतम् प्रतिष्पर्धी महतोले ६ हजार ६६६ मत मात्र पाए । त्यस्तै उपप्रमुखमा एमालेका साह ९ हजार ९०१ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गंगा दाहालले ७११९ मत पाईन् ।
बरहथवा नगरपालिका–१७ मा जेठ ३ गते पुनः मतदान भएका थियो । बरहथवाको मतगणना सम्पन्न भएसँगै सर्लाहीमा २० वटै पालिकाले नयाँ जनप्रतिनिधि पाएको छ ।




