
जनकपुरधाम- जनकपुरमा पार्टीको विद्रोही उम्मेदवारहरुले स्वतन्त्रबाट जित्दै आएको इतिहास पुनः एकपटक दोहोरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साह निर्वाचित भएका छन्।


यस्तै तेश्रो नम्बरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार मनोजकुमार चौधरीले ५ हजार ३६० मत पाएका छन् भने चौथो नम्बरमा गठबन्धबाट जसपाका उम्मेदवार निवर्तमान मेयर लालकिशोर ५ हजार १९४ मतमा सिमित भए । पाँचौ नम्बरमा स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतो ४ हजार २९० मत पाएका छन् ।

यस्तै उपमेयरमा नेपाली काँग्रेसका किशोरी साह निर्वाचित भएका छन् । उनी १५ हजार ५२५ मत ल्याएर निर्वाचित भएका छन् भने उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रुना झाले १० हजार ८८५ मत मात्र प्राप्त गरेकी छिन् ।
यस्तै निवर्तमान उपमेयर रिता कुमारी मिश्रले ५ हजार ८१७ मत मत ल्याइन् । उनी लोसपाबाट उम्मेदवार थिइन्।

जनकपुरमा २०१७ सालदेखि २०७४ सालसम्म कुनै पनि दलले नेतृत्व गरेको इतिहास छैन। तर २० वर्षपछि ०७४ सालको निर्वाचनमा स्वतन्त्रले जितेको ‘ट्रेण्ड’ भत्केको थियो । जसलाई यस पटक पुनः काँग्रेसका बागि उम्मेदवार मनोज साहले दोहोर्याउन सफल भएको छ ।

०७४ को स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)का लालकिशोर साह नगर मेयरमा निर्वाचित भएका थिए। साह दलको उम्मेदवारबाट विजयी हुने जनकपुरका पहिलो जनप्रतिनिधिका रूपमा देखा परेका थिए। तर यस पटकको चुनावमा पाँच दलको गठबन्धनबाट पुनः उम्मेदवार बनेका साह चौथो स्थानमा पुगे ।
तत्कालीन पञ्चायत सरकारले नेपाल राज्य नगरपालिका ऐन, २००९ बमोजिम ०१७ जेठ १३ मा जनकपुर नगरपालिका गठन गरेको थियो। त्यसबेला श्यामसुन्दर शर्मालाई पञ्च सरकारले ‘अध्यक्ष’ को टीको लगाएको थियो। त्यसपछि तत्कालीन राजा महेन्द्रले ०१७ साल कै पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागू गरेपछि जनकपुर नगरपालिकाको नाम ‘जनकपुर नगर पञ्चायत’ राखेका थिए।

त्यसबेलादेखि ०७४ मा बाहेक कुनै दलले नेतृत्व गरेका स्थिति छैन।
२०४६ मा प्रजातन्त्रको पुर्नस्थापना पश्चात् २०४७ जेठ २८ मा नगरपालिका ऐनअनुसार नगरपालिका बनेको जनकपुरमा २०४९ मा सम्पन्न स्थानीय निर्वाचनमा मेयरका लागि नेपाली कांग्रेसबाट दुईजना आकांक्षी थिए। दीगम्बर राय र वृषेशचन्द्र लाल। तर पार्टीले दीगम्बरलाई टिकट दियो । पार्टीको निणर्यबाट असन्तुष्ट वृशेषचन्द्रले स्वतन्त्र रूपमा उम्मेदवारी दिए। साथै लालकिशोर साहले पनि उपमेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिए।
निर्वाचनमा दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार भारी सावित भए र स्वतन्त्रबाट उम्मेदवारी दिएका वृषेशचन्द्र मेयरमा तथा लालकिशोर उपमेयरमा निर्वाचित भए।
त्यसको पाँच वर्षपछि २०५४ सालमा नेपाली काँग्रेसबाट दामोदर प्रसाद उपाध्याय र बजरंग प्रसाद साह मेयरको आकांक्षी थिए । तर कांग्रेसबाट दामोदरप्रसाद उपाध्यायले मेयरको टिकट पाए। उपाध्याय पञ्चायतकालमा दुईपटक पञ्च बनिसकेका प्रभावशाली नेता थिए। तर नतिजा फेरि उल्टियो, नेतृत्व कांग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका बजरंगप्रसाद साहले निर्वाचन आफ्नो पक्षमा पार्न सफल भए ।

त्यसपछि दुई दशक स्थानीय तहको निर्वाचन हुन सकेन। ०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाले निकालेको जितलाई अपवाद मान्ने हो भने दलको उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारलाई जनकपुर फापेको देखिन्छ र यस पटक पुनः जनकपुरले त्यहि इतिहास दोहोर्याएको छ।
मनोजको जित पछाडिको फ्याक्टर यस्ता छन्
चुनावको जोडतोडका साथ तयारीमा जुटेका जनकपुरका काँग्रेसीजन पाँचदलीय गठबन्धनबाट मेयरमा जसपाका लालकिशोर साहलाई उम्मेदवार बनाए पछि कांग्रेसका नगर सभापति मनोज साहले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिए । साह संग काँग्रेसका एउटा ठूलो टिम उतै लागे ।

जनकपुरधाम उपमहानगरमा कांग्रेसले मेयरको उम्मेदवारी पाउँदा शतप्रतिशत जित निकाल्न सक्ने विश्लेषण सहित चुनावी तयारीमा रहेको भए पनि गठबन्धनमा जसपालाई मेयरको टिकट दिने सहमति भएपछि कार्यकर्ता बिच्किए । स्वतन्त्र उम्मेदवार साहलाई साथ दिएजस्तो गरी जनकपुरको कांग्रेस नगर कमिटी पनि खुलेर गठबन्धनको उम्मेदवारका पक्षमा लागेनन् ।
मनोजलाई कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूको पनि समर्थन देखिन्थ्यो । जब निर्वाचन चिन्हसम्बन्धी विवादमा मनोजले निर्वाचन अधिकृतको कार्यालयमा धर्ना र विरोध प्रदर्शनको लागि गए त्यतिबेला कतिपय वडाध्यक्षका उम्मेदवारहरु पनि सँगै थिए । कांग्रेसका वडास्तरीय प्रचार सामग्रीमा गठबन्धनका मेयर उम्मेदवारलाई भोट मागेको देखिएन ।
जसकारण कांग्रेसको बहुसंख्यक मत साहलाई नै परेको अनुमान गर्न सकिन्छ।
मनोज साह आफू कांग्रेस कै मतमा मेयर जितेको दाबी समेत गरेका छन् । साहले जनकपुरमा कांग्रेस जोगाउनका लागि आफूले मेयर पदमा उम्मेदवारी दिएको बताउँदै उनले भने, ‘रुखबाहेक अन्त भोट हाल्नु कांग्रेसको नीतिविपरीत हो। हामीले अन्यत्र भोट हाल्यौँ भने जनकपुरको कांग्रेस जोगाउन शेरबहादुर आउने त होइनन्। त्यसैले कांग्रेस जोगाउनका लागि मैले उम्मेदवारी दिए र सबै कांग्रेसी मतदाता मेरो पक्षमा मत गरेका छन्।’
जनकपुरधामका स्थानीय नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य शैलेन्द्र झा भन्छन्, ‘दलबाट आजित भएका मतदाताको मत स्वतन्त्र उम्मेदवारलाई दिएका हुन् । कांग्रेसलाई भोट हाल्दै आएका अधिकांश मतदात अरु पार्टीको चुनाव चिन्हमा भोट हाल्नुभन्दा आफ्नै पार्टीका बागी उम्मेदवारलाई नै मत दिएका हुन् ।
नव निर्वाचित मेयर साह २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार लालकिशोरसँग फराकिलो मतान्तरले पराजित भएका थिए। अघिल्लो चुनावमा लालकिशोरले २१९०३ मत ल्याउँदा मनोजले १११६४ मात्र पाएका थिए।
त्यतिबेला मधेस आन्दोलनको ह्युम र सेन्टिमेन्टले काम गरेको थियो । जनताले पनि एक मधेसवादी दललाई पनि हेरौं भनेर जिताएका थिए । तर जनताले सोचे जस्तो, जनताले चाहे जस्तो नगरमा केहि नभएको हुँदा निर्वतमान मेयर लालकिशोर संग जनता असन्तुष्ट हुँदै बिकल्पको खोजीमा थिए । र मनोजलाई विकल्पको रुपमा रोजेको देखिन्छ।
०७४ को चुनाव हारे कतिपनि विचलित नभई मनोजले जनताका बीच पुगेर काम गरिरहे। आफूले त्यही बेलादेखि काम गरेरै आफ्ना लागि भोट मागिरहेको उनले बताए ।

साहले संक्षिप्त प्रतिक्रिया दिंदै भने, ‘प्रायः सबै उम्मेदवार चुनावमा उम्मेदवार बनि सकेपछि चुनाव ताका मात्र भोट माग्छन्। तर मैले २०७४ मा चुनाव हारेदेखि नै मत माग्न थालेका थिएँ। त्यति बेला देखि निरन्तर जनताको सेवा गरिरहेँ, र मत पनि मागिरहेँ।’
उनले कांग्रेसको नगर सभापति भएर पछिल्लो साढे चार वर्षयतो उपमहानगरमा निरन्तर संगठन पनि विस्तार गरिरहेको बताउँदै उनले भने, ‘जनताले मैले गरेको सेवाको प्रतिफल स्वरुप मतदान गरेर मलाई जिताउनु भयो, अब जनताको हरसम्भव राम्रो काम गरेर देखाउँछु ।’
सत्तारूढ गठबन्धनले जसपाबाट निवर्तमान मेयर लालकिशोरलाई नै उम्मेदवार बनाउने निणर्य विरूद्ध मनोजसँगै कांग्रेसका कार्यकर्ता र समर्थकले पनि मत मार्फत विद्रोह गरेका छन्।
साढे चार वर्षे कार्यकालमा कुनै महत्वपूणर् काम गर्न नसकेको, उपमहानगरको कार्यालयमा आफन्त र कार्यकर्ता भर्ति केन्द्र बनाएको र भ्रष्टाचार समेत गरेको आरोप लागेका लालकिशोरलाई नै उम्मेदवार बनाइएपछि जनकपुरवासी आक्रोशित भएका थिए र त्यो अक्रोस उनिहरुले ब्यालेट मार्फत पोखे ।
जनकपुरमा उनको विपक्षमा मतदाताले बलियो स्वच्छ र काम गर्ने उम्मेदवारको खोजीमा थिए। मनोजले विस्तारै आफ्नो छवि र ’भिजन’ मतदातासामु राखे र प्रभावित गरे। लालकिशोरबाट असन्तुष्ट धेरैले मनोज प्रतिको जनताको रुझानलाई देख्दै उनले जित्ने आंकलन गर्दै चुनाव जित्नेलाई भोट दिएका हुन् ।
निर्वाचित भए पश्चात साहले आउने आर्थिक वर्षको लागि नमुना बजेट बनाउने पहिलो काम गर्ने बताए ।
उनले विशेषज्ञहरुको राय सल्लाह सुझावमा नगरपालिकाको लागि गर्न सक्ने योजनाको खाका बनाउने बताए । उनले सबै क्षेत्रका जानकार र विज्ञहरुको छलफलको लागि एक महिना जतिको समय छुट्याउने बताए ।
नवनिर्वाचित मेयर साहले भने, ‘गर्न सक्ने योजनाको लागि मात्र बजेट बिनियोजन गर्छु, र ठोस रुपमा त्यसलाई पुरा गर्छु। जनकपुरको ठूलो समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन गर्न स्यानिटरी ल्यान्डफिल साइट, कृषि बजार व्यवस्थापन, शिक्षा र स्वास्थ्य सम्बन्धी कानुन बनाउने, संचार निति बनाउने र धार्मिक पर्यटक नगरीका रूपमा विकास गर्ने कामलाई प्राथमिकतामा राखेर काम गर्छु।’
जनकपुरधाम उपमहानगर पालिका-२०७९ ( निर्बाचित जनप्रतिनिधिहरुको विवरण )
मेयर :- श्री मनोज साह उप मेयर :-किशोरी साह वार्ड नं १ दिपनारायण यादव वार्ड नं २ शिव कुमार साह वार्ड नं ३ दीपेन्द्र कुमार साह वार्ड नं ४ सुरेश झा वार्ड नं ५ बेचन साह हलुवाई वार्ड नं ६ दिनेश साह वार्ड नं ७ निरज साह वार्ड नं ८ दिनेश सिंह वार्ड नं ९ परमेश्वर साह वार्ड नं १० मिथिलेश कुमार कणर् वार्ड नं ११ अर्जुन कुमार चौधरी वार्ड नं १२ महेन्द्र साह तेली वार्ड नं १३ जित बहादुर राउत वार्ड नं १४ पुन्य प्रताप यादव वार्ड नं १५ संतोष कुमार साह वार्ड नं १६ राम चन्द्र पजियार वार्ड नं १७ राम वृक्ष यादव वार्ड नं १८ लक्ष्मेश्वर मण्डल केवट वार्ड नं १९ विनोद कुमार साह वार्ड नं २० मोती राइन कवाडी वार्ड नं २१ राज नारायण साह वार्ड नं २२ विमलेस मिश्र वार्ड नं २३ राघवेन्द्र प्रसाद साह वार्ड नं २४ उपेन्द्र सहनी वार्ड नं २५ चन्देश्वर साह