
बारा। सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च बदर गरिदिएको भन्दै फैसलाविरुद्ध बारामा राँके जुलुश प्रदर्शन भएको छ। सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्येको एक माओवादी केन्द्रले राँके जुलुश प्रदर्शन गरेको हो।
माओवादी केन्द्र निजगढ नगर कमिटीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको भन्दै बिहीबार राति राँके जुलुससहित विरोध प्रदर्शन गरेको हो ।
राष्ट्रले समेत महत्त्वाकाङ्क्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएकै कारण अदालतको निर्णय प्रति विरोध गरिएको माओवादी केन्द्रका सपिम खरेलले बताए।
निजगढ विमानस्थल निर्माणले यहाँका जनता, मलुकको भाग्य र भविष्य उज्जवल हुने मात्रै नभई सोझै अन्य मुलुकसँग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध रहने महत्त्वाकाङ्क्षी योजनामा सर्वोच्च अदालतले वातावरण सरक्षणको नाममा सेटिडमा रोक लगाएको माओवादी केन्द्रका मधेश प्रदेश कमिटी सदस्य रबिराज दंगालले आरोप लगाएका छन्। दंगालले भारतको इसारामा अदालतले गैरजिम्बेवारी प्रदर्शन गरेर न्यायालय बदनाम गर्ने कार्य गरेको आरोप लगाए।
वातावरण सरक्षण अभियन्ता र वरिष्ठ अधिवक्ताहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चको बृहत् पूर्ण इजलासले अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने भए ऐन, कानुन र विधिशास्त्रीय मान्यता अनुसार उपयुक्त विकल्प खोज्न परमादेश दिएको थियो।
निजगढमा विमानस्थल निर्माण गर्दा वातावरणीय क्षति धेरै हुने भन्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासमेत र रञ्जुहजुर पाँडेसमेतले छुट्टाछुट्टै रिट दायर गरेका थिए।