जनकपुरधाम- आज विहान देखि सम्पर्क विहीन भएको तारा एयरको विमानमा धनुषाका एकै परिवारको सातजना रहेको पुष्टि भएको छ ।
पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्क विहिन बनेको थियो । तारा एयरका अनुसार उक्त विमानमा चालकदलका तीन सदस्य सहित २२ जना यात्रुहरू सवार रहेका मध्ये धनुषाको मिथिला नगरपालिका-११ लोटा गाउँका सातजना रहेको पुष्टी भएको छ ।



विमानमा राजन कुमार गोले, उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेका हुन् । उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । विमान वेपत्ता भएको खबरले परिवारमा रुवावासी चलेको छ भने सारा गाउँमा नै चिन्तित छन्।
एकै परिवारका ७ जना सवार सम्पर्क विहिन रहेको विमानको बारे सुनेर अहिले राजनको घरमा स्थानीयहरु पुगेर परिवारजन र आफन्तलाई भेटेर सान्तवना दिनेहरुको भीड लागेको छ।
सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, ४ भारतीय, २ जर्मन नागरिक र चालकदलका तीन सदस्यसहित २२ जना सवार छन्।
तस्बीर ः
राजन गोले र राजनको मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ




