
जनकपुरधाम- मधेश प्रदेश सरकारले जेठ २१ गते प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।
प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने जानकारी दिए।
मन्त्री साहका अनुसार नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाइ, स्वास्थ्य, पूर्वाधारको विकासमा जोड दिने भएको छ।
प्रदेश सरकारको अहिले बन्द रहेको बहुचर्चित छोरी शिक्षा बिमा कार्यक्रमलाई पनि प्रदेशको नीति तथा कार्यक्रममा ल्याउन लागेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफल सम्पन्न भए पश्चात असार १ गते प्रदेश सरकारको बजेट प्रदेश सभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
अहिले प्रदेश सरकारले सोही अनुसारको तयारीमा जुटेको बताइएको छ। बजेट प्रस्तुत गर्नु दुई दिन अगाडी प्री बजेट पनि ल्याउने तयारीमा प्रदेश सरकारको अर्थ मन्त्रालय लागि परेको छ।