
औरही। महोत्तरीको भंगहा नगरपालिकाको कार्यपालिका सदस्यको लागि भोलि (शनिबार) निर्धारण गरिएको निर्वाचन नहुने भएको छ।
उच्च अदालत जनकपुरले भंगहा नगरपालिकाको कार्यपालिका सदस्यको लागि जेठ २१ गते तोकिएको निर्वाचन नगर्न/नगराउन अल्पकालीन आदेश दिए पछि कार्यपालिकाको निर्वाचन रोकिएको छ ।
भंगहाका जोगिन्द्र दास तत्माले जिल्ला निर्वाचन कार्यालय महोत्तरी, निर्वाचन अधिकृतको कार्यालय भंगहा समेतलाई विपक्षी बनाई दायर गरेको रिटमामाथि सुनुवाइ गर्दै उच्च अदालत जनकपुरले शुक्रबार यस्तो आदेश दिएको हो।
भंगहा नगरपालिकाको ८ जना कार्यपालिका सदस्यको लागि जेठ २१ गते निर्वाचनको मिति तय गरिएको थियो। ‘निवेदकले अन्तरिम आदेश माग गरे तर्फ विचार गर्दा, निवेदकले माग गरे बमोजिमको अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा दुवै पक्ष राखी छलफल गरी गराई त्यसपछि मात्र अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा निणर्य हुन उपयुक्त हुने हुँदा अन्तरिम आदेश छलफलको लागि मिति २०७९/२/२४ गतेको पेशी तोकी सोको जानकारी विपक्षीहरुलाई दिनु’ न्यायाधीश डालकुमार खड्काको एकल इजलासको आदेशमा भनिएको छ।
अदालतमा सो छलफल मिति सम्मको लागि, निवेदन पत्रमा उल्लेखित विपक्षी निर्वाचन अधिकृतको कार्यालय महोत्तरी भंगाहा नगरपालिकाले जेठ २१ गते शनिवारका दिन गर्ने भनिएको मतदानको कार्य नगर्नु नगराउनु भनिएको छ। कार्यपालिका सदस्यका लागि गैर कलस्टरबाट एकजनाले उम्मेदवारी दिएपछि अदालतमा रिट परेको हो।
मेयरमा कांग्रेसबाट पराजित विजय मण्डलले अल्पसंख्यक कलस्टरबाट उम्मेदवारी दर्ता गराएका थिए। कार्यपालिका सदस्यमा अल्पसंख्यक तथा दलित समूहबाट मात्र निर्वाचित गराउनुपर्ने कानुनी व्यवस्था छ। अल्पसंख्यक अन्तर्गत धानुक (मण्डल) जात नपरेपनि निर्वाचन अधिकृतको कार्यालयले मण्डलको उम्मेदवारी दर्ता गरेको थियो।
गैर कलस्टरबाट उम्मेदवारी दर्ता गराएका मण्डल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार संजिवकुमार साहसँग २५३ मतले पराजित भएका थिए।
https://shirishnews.com/news/20795.html/