ढल्केवर- दशैंको सातौँ दिन महासप्तमीको अवसर पारेर आजदेखि धनुषाको ढल्केवरमा डान्डिया उत्सव सुरु हुने भएको छ । स्थानीय दुर्गा मन्दिरको प्राङ्गणमा साँझको समयमा तीनदिने डान्डिया नृत्यकाे आयोजना हुन लागेको कार्यक्रम संयोजक उमेश कुमार महतोले बताए ।
धार्मिक उत्सवको रूपमा आयोजना गरिएको उक्त कार्यक्रमको आवश्यक तयारी पूरा भइसकेको संयोजक महतोले बताए ।



डान्डिया धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको लोकनृत्य हो । विशेषगरी नवरात्रको समयमा माता दुर्गाको आराधना गर्दै डान्डिया खेल्ने परम्परा छ । भारतको गुजरात क्षेत्रमा लोकप्रिय यो नृत्य पछिल्लो समय नेपालका विभिन्न स्थानमा समेत दशैं तथा दुर्गा पूजा उत्सवको आकर्षण बन्दै गएको छ ।
धार्मिक मान्यताअनुसार डान्डिया माता दुर्गा र महिषासुरबीच भएको युद्धसँग जोडिएको छ । यसमा प्रयोग गरिने काठका लट्ठीलाई देवीको तरबारको प्रतीकका रूपमा लिने गरिन्छ । नृत्यले असत्यमाथि सत्य र खराब शक्तिमाथि असल शक्तिको विजयको सन्देश दिने विश्वास छ ।
डान्डिया नृत्यले धार्मिक आस्थासँगै आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक सम्बन्धलाई समेत प्रगाढ बनाउने विश्वास गरिन्छ । संगीतको तालमा समूहगत रूपमा खेलिने यस नृत्यले दशैंको उत्सवलाई थप उल्लासमय बनाउनुका साथै स्थानीय कला तथा संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउँछ ।
साँझको समयमा आयोजना हुने कार्यक्रममा सहभागी भई स्थानीय बासिन्दाले दशैंको सांस्कृतिक उत्सवमा रमाउन आयोजकले आग्रह गरेको छ ।




