काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले पछिल्लो समय उठिरहेका यौन हिंसाका घटनामा पुरुषहरु पनि पीडित भइरहेको बताएकी छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले यौन हिंसाविरुद्धको कानुनबारे विधेयक आएको बताउँदै सबै पुरुष दोषी हुन्छन् भन्ने दृष्टिकोण राख्न नहुने बताइन्।
'हामी दुईवटा जाति मात्रै छौँ, महिला र पुरुष। तर एउटा व्यक्ति र वर्गका लागि मात्रै कानुन बनाउने होइन', उनले थपिन्, 'सबै नागरिकको लागि कानुन चाहिन्छ। महिलाको भावना मात्रै होइन, पुरुषको भावना हेरेर कानुन बनाउनुपर्छ।
उनले पछिल्लो समय चर्चित बनेका पल शाह जोडिएको नाबालिग गायिकामाथिको बलात्कार प्रकरण र सुन्दरी प्रतियोगितामा सहभागी हुँदा बलात्कारमा परेकी किशोरीको पनि प्रसंग निकालिन्।
'पल शाह र सुस्मिताको प्रकरणमा मन मिल्दा लभ तर मन नमिलेपछि बलात्कार?', उनले भनिन्, 'हाम्रै पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको घटनामा पनि स्वार्थ मिलुञ्जेल कसैलाई मतलव भएन। स्वार्थ नमिलेपछि बलात्कार अभियोगमा महरालाई ६ महिना जेल कोचियो।'
उनले बलात्कारका मुद्दामा हदम्याद नराखिए उजुरीका चाङ लाग्ने बताइन्। 'यदि हद म्याद राखिएन भने मुद्दाको चाङ लाग्छ। म पनि एउटा महिला सांसद हो। तर पुरुषको पीडाको सन्दर्भमा पनि कानुनले हेर्नुपर्छ', उनले भनिन्, 'पुरुष पनि पीडित छन् उनीहरुका लागि पनि सम्बोधन हुनुपर्छ। नाबालक, नाबालिग र किशोर किशोरीका लागि हदम्याद नराख्दा हुन्छ।'
सांसद चौधरीले २० वर्षमा बिहे गर्ने नियम पनि हटाउन माग गरिन्। '२० वर्षमा बिहे गर्ने उमेरको हद पनि घटाऊँ। हाम्रा नानीहरू १३ वर्षमै बच्च जन्माउने भइसके', उनले थपिन्, 'कानुन व्यवहारिक हुनुपर्छ। कसैलाई दु:ख दिने कानुन बनाउनु हुँदैन।'




