जनकपुर। खरिद गरेको लामोसमयदेखि थन्किएको जनकपुर– जयनगर रेल आजदेखि गुड्ने भएको छ । तर, त्यो पनि यात्रु बिनाको । उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न रेल आजदेखि दिनको एकपटक चल्ने भएको हो ।
रेल चलाउन लिक कब्जा गरिएका ठाउँहरू खाली गराइएको छ भने हाटबजार लिकमा लगाउन बन्द गराइएको छ ।
अनुमतिबिना रेलवे लिक क्रस गरी बनाइएको बाटो बन्द गराउनुको साथै गेट म्यान कर्मचारी आज बिहानैबाट काममा खटेको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए ।
आज बिहान १० बजे इनर्वाबाट रेल जनकपुर आउने आउने र फर्किने महाप्रवन्धक झाले बताए ।
‘लामोसमयदेखि रेल थन्काइएको थियो । एक दिन ट्राइल गरियो । त्यसले मात्र यसको प्राविधिक स्थति बुझ्न सकिँदैन’ उनले भने ‘साता दश दिन चल्यो भने रेल कुन कण्डिसनमा छ बुझ्न सकिन्छ । कतै खराबी छ भने त्यसलाई मेन्टेन गर्ने काम हुन्छ । यदिन यात्रु बोक्न लाग्यो भने कतै कुनै समस्या भए बीच बाटोमै रोकेर ठीक गर्नु परे संदेश राम्रो जाँदैन ।’
रेल्वे लिकामा छाडा छाडिने पशु चौपाया, मानव आवागमन, जथाभावी बाटो लगाउने जस्ता समस्या समाधान गर्न रेल्वे ‘ड्रायरन’ गर्नु आवश्यक रहेको महाप्रवन्धक झाले बताए ।
‘ड्रायरन’ गर्नाले लिकामा पशु छाडा छाड्ने, मान्छेहरु जथाभावी गएर बसिदिने, बाटो काट्ने जस्ता समस्या समाधान हुन्छ । रेल चल्न थाल्यो भनेर लिकमा जथाभावी गर्नु हुँदैन भन्ने सर्वसाधारणमा जनचेतना फैलिन्छ’ झाले भने ।
संचालनका लागि दुबै रेलको इन्जन र बोगी एउटैमा जोडिएको छ । अगाडी एउटा र पछाडि अर्को इन्जन जोडिएको हो । जाने बेला एउटा इन्जिन र फर्किने बेला अर्को इन्जनको प्रयोग गरिने छ ।
६० नेपाली र १४ भारतीय कर्मचारी भोलिदेखि काममा खटिनेछन् । भारतको सीआरपीएल कम्पनीबाट २६ जना कर्मचारी आउने टुंगो लागेको छ । जसमा १४ जना भारतीय कर्मचारी आइसकेको र बाँकी उद्घाटनपछि आउने महाप्रवन्धक झाले बताए ।
नेपाली र भारतीय प्रधानमन्त्री संयुक्त रुपमा रेल संचालनको लागि उद्घाटन गर्ने तयारी छ । तर त्यसको लागि हालसम्म तिथि तय भएको छैन । फागुनको पहिलो सातामा उदघाटनको तिथि यत हुन सक्ने महाप्रवन्धक झाले बताए ।
जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको रेलमार्ग छ । एसी चलाएर आउँदा दैनिक २८० लिटर डिजल लाग्ने अनुमान गरिएको छ ।
२ असोज २०७७ मा भारतबाट खरिद गरी दुई सेट रेल नेपाल भित्र्याइएको थियो । भारतीय सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरि तामझाम सहित ल्याएको दुइ सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ ।