जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सदनमा तत्कालै नागरिकता विधेयक ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
प्रेस मञ्च धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आमाबुवासँग जन्मसिद्ध नागरिकता भएर पनि उनीहरुका सन्तानलाई अनागरिक बनेर बस्नु परेको बताउँदै उनले भने, ‘त्यसैले अबिलम्ब नागरिकता विधेयक पारित गरेर नागरिकताविहीन सबैलाई नागरिकता दिनुपर्छ ।’



अध्यक्ष यादवले आगामी संसदीय निर्वाचनमा मतदान गर्ने अधिकारबाट नागरिकलाई बञ्चित नगर्न तत्कालै नागरिकता विधेयक ल्याउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘यहि देशमा जन्मे हुर्केका व्यक्तिलाई पनि नागरीक हुनुबाट बञ्चित गराउनु ठीक होइन । नागरीकता हुनु न हुनु अलग कुरा भएकोले नागरिकता प्रमाणपत्र भएपछि मात्र नागरिक हुने अन्य देशमा छैन । त्यसैले नागरीक विधेयक ल्याएर नागरिकता विहिनलाई नागरीकता प्रदान गरि उनीहरुलाई मतदाता नामावलीमा सूचीकृत गराउनुपर्छ र निर्वाचनमा सहभागी गराउनुपर्छ ।’
उनले संघीयता कार्यान्वयनका लागि संघीय निजामती ऐन पनि तत्कालै ल्याउनुपर्ने आवश्यकता रहेको बताए।
त्यसैगरी अध्यक्ष यादवले मधेसमा ५३ प्रतिशत जनसंख्या रहेकोले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्न पनि माग गरे । उनलेसंघीय संसदमा समानुपातिक प्रणालीको टेबुल संविधानको मर्म विपरित भएकोले सूचि परिवर्तन गर्नुपर्ने र पूणर् समानुपातिक निर्वाचन प्रणालीमा देश जानु पर्ने बताए ।
उनले अहिले सरकारमा रहेको ५ दलीय गठबन्धन कायम रहिरह्ने समेत बताए ।




